दलित समुदाय शिक्षित भए विभेद आफै हट्ने छः अध्यक्ष यादव

जनकपुरधाम, १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको विभेदिकरणमा परेका दलित समुदायले शिक्षामा पहुँच बढाएर सङ्गठित हुँदै सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

महोत्तरीको बर्दिवासमा आईतवार आयोजित दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । हरेक राजनीतिक परिवर्तनहरुमा दलित समुदायको महत्वपूर्ण सहभागिता रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने ‘भीम राव अम्बेडकर ज्योतीबा फुले जस्ता महान अभियानीहरुको सिद्धान्तलाई आत्मसात गर्दै दलित अगुवाहरु अगाडि बढ्नुपर्दछ, विभेदिकरणमा परेको दलित समुदायले शिक्षामा पहँुच बढाएर सङ्घर्ष गरेर आफ्नो अधिकार र पहुँच बढाउनु आवश्यक छ ।’

देशको दुई तिहाई जनसङ्ख्या शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिबाट वञ्चित रहेको चर्चा गर्दै सबभन्दा बढी जनसंख्या भएका दलित समुदाय भूमिहीन हुन, आर्थिक रुपमा समेत कमजोर रहेको उनले टिप्पणी गरे । राज्यको सेवा सुविधा र अवसरबाट वञ्चित रहेको बताउँदै जसपा अध्यक्ष यादवले भने ‘अवसर र सम्पतिबाट दलित समुदाय वञ्चित रहेसम्म लोकतन्त्रको अनुभूति हुन सक्दैन, त्यसैले राज्यको हरेक निकायमा दलित समुदायको पहुँच र प्रतिनिधित्व हुनै पर्दछ ।’

नेपालमा विदेशी दातृहरुले यहाँको विकासका लागि अहिलेसम्म ३६ खर्ब रुपैया ऋण दिएको तर असमान्ता र विभेदकै कारण समृद्ध नेपाल बन्न सकेको छैन अध्यक्ष यादवले भने, ‘दलित समुदायको आर्थिक, समाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच भएमा नेपाल स्वतः समृद्ध हुनेछ ।’

जातजाति बीचको विभेद मनुस्मृतिले ल्याएको चर्चा गर्दै उनले मनुस्मृतिमा वर्ग र वर्ण व्यवस्थाको कारण कुनै समुदाय शिक्षा, रोजगारी र राजनीतिबाट वन्चित रहँदैआएको बताए । ‘मुख र हात खुट्टाबाट कोही पनि जन्मिदैन, पेटबाट नै जन्मिन्छ तर मनुस्मृतिमा यी कुराहरु दर्शाइएको छ, दलित समुदाय शिक्षित भएर अगाडि आए विभेद आफै हट्ने छ ।’

नेपाल जस्तो सुन्दर र सम्पन्न मुलुक विश्वमा कतै नभएको बताउँदै उनले भने ‘तर यहाँको साँस्कृतिमाथि नै प्रहार भएको छ, जबसम्म हामी वैदेशिक साँस्कृति अपनाउँछौं, तबसम्म समृद्ध नेपालको परिकल्पना गर्न सकिदैन ।’ अध्यक्ष यादवले दलित समुदायको पेशा, कला, संस्कृति उजगार भएमा उनीहरु स्वतः समृद्ध बन्नेछ र अधिकांश समस्या समाधान भएर जाने बताए ।

सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टद्वारा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, राष्ट्रिय योजना आयोगका डा. उमाशंकर प्रसाद, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा लगायतले मन्तव्य व्यक्त गरे । उद्घाटन समारोहमा संघीय सांसद डा. सुर्यनारायण यादव, प्रदेश सांसददव्य चमेली देवी दास, सुनिता मोची, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, लेखक एवम् विष्लेशक भोला पासवान दलित पत्रकार महासंघका प्रदेश अध्यक्ष कैलाश दास, मिडिया काउन्सिल सदस्य अर्जुन कुमार मण्डल लगायतको उपस्थिति थियो ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा प्रदेश २ का दलित अगुवाहरुको सहभागिता रहेको छ । गोष्ठीको दोस्रो दिन जसपा अध्यक्ष यादवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका विनोद विश्वकर्माले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस