राजविराज, २९ फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा गए राति आगलागी हुँदा २७ वटा घर जलेर क्षति भएको छ । स्थानीय डम्बर यादवको घरबाट मध्ये रातिमा सल्केको आगो करिब ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
आगलागीमा परेर १० परिवारको सो घरहरु पूर्ण रुपमा जलेर क्षति भएको छ । स्थानीय डम्बर यादवको ४ वटा घर, दिनेश यादवको ३ वटा घर र एउटा गोठ, फुलदेव यादवको २ वटा घर र एउटा गोठ, भोला यादवको ३ घर र एउटा गोठ, मनोज यादवको २ वटा घर र एउटा गोठ, श्याम यादवको एउटा घर जलेर क्षति भएको छ ।
त्यस्तै, महेश यादव, बृज नारायण यादव र सत्यनारायण यादवको पनि १–१ वटा घर र १–१ वटा गोठ जलेर क्षति भएको वडा नम्वर ४ का अध्यक्ष तेजनारायण यादवले जानकारी दिए ।
आगलागीमा परेर ती परिवारहरुका घर र गोठसहित नगद, गरगहना लत्ताकपडा, फर्निचर, आन्नपात, विद्युतीय सामाग्रीहरु जलेर करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए । उनका अनुसार छोरीको विवाहका लागि डम्बर यादवले घरमा राखेको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन, १० तोला चाँदी समेत जलेको छ ।
हनुमाननगर कंकालिनी, कंचनरुप र शम्भुनाथ नगरपालिकाबाट पुगेका बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाएको छ ।