जनताले मौका दिए काम गरेर देखाउँछु: सत्यनारायण

राजविराज, २४ वैशाख । अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरुमा सधैं अगाडि रहने नेता हुन् सत्यनारायण यादव । जुँगाके रेखी नबस्दै राजनीतिमा होमिएका उनी सङ्घर्षको भट्टीमा खारिदै निक्कै सुझबुझ भएका नेताको रुपमा चिनिन्छन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ सखडा निवासी सत्यनारायणलाई ३६ वर्ष अघि अर्थात २०४३ सालमा प्रधानपञ्च चुनेका थिए । जतिबेला उनी मात्र २७ वर्षका युवा थिए । उनलाई युवा प्रधानपञ्च भनेर पनि चिनिन्थ्यो ।

रामराय देवी यादव एवम् स्व.युगेश्वर यादवका सुपुत्र सत्यनारायण हेटौडा स्थित फोरेस्ट्री ईन्सिट्च्युटबाट डिप्लोमासम्मको अध्ययन गरी सरकारी सेवामा प्रवेश गरे । तर उनको मस्तिष्कमा राजनीतिको चस्का लागि सकेको थियो । डियुटी गरेर तलब खाने अनि शान्तपूर्वक बस्न उनको मनले मानेन । जागिर छाडेर उनी जनताको सेवा गर्न पुनः गाउँ फर्किएर राजनीतिमा लागे । त्यतिबेला शिक्षित व्यक्तिहरु कमै मात्र राजनीतिमा थिए ।

सदा जीवन उच्च विचारका धनी उनी प्रधानपञ्च हुँदा छिन्नमस्ता भगवती मन्दिर निर्माण, सखडादेखि राजविराजसम्मको सडक निर्माण, गाउँटोलीमा विद्युुतीकरण, खानेपानी ओभर टयाङ्क निर्माण, छिन्नमस्ता मिडिल स्कुललाई हाइस्कुल, स्वास्थ चौकी स्थापना लगायतका दर्जनौं महत्वपूर्ण कामहरु गरेका छन् । जबकी त्यतिबेला गाउँ पञ्चायतमा बजेट अत्यन्त न्यून हुन्थ्यो ।

प्रधानपञ्च रहँदा त्यसक्षेत्रका गाउँटोलमा कसैमाथि थिचोमिचो वा अन्याय भएको थाहा पाउने वितिक्कै उनको उपस्थिति हुन्थ्यो । सबैका सहयोगी सबैका प्यारा नेताको रुपमा परिचित उनी यतिबेला चुनावी मैदानमा उत्रिएका छन् ।

पालिकाको अध्यक्षमा चुनाव लड्ने सोच उनमा थिएन । तर विश्वविख्यात सखडेश्वरी छिन्नमस्ता भगवतीको नामले परिचित छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिले निरन्तर परिषद्सम्म गर्न नसक्नु, विकासीय कामहरु अवरुद्ध हुनु, बजेट त्यसै फ्रिज हुनु, भ्रष्टाचारको थलो बन्नु, जनप्रतिनिधि बीचको नौटङ्कीहरु सार्वजनिक हुनु, पालिकाको उन्नती प्रगति हुनुको साटो बदनामी हुनु, जनताले सेवा सुविधा तथा न्याय नपाउनु, जनप्रतिनिधिहरु भिजन विहिन हुनु जस्तो बेथितिहरुले गर्दा पालिका र जनताको समेत स्वाभिमानमा ठेस पुगेको अवस्था देखेर आफु अध्यक्ष पदमा उम्मेदवारी दिएको सत्यनारायण बताउँछन् ।

पूर्व प्रधानपञ्च रहिसकेको तथा छिन्नमस्ता जन्मथलो भएका कारण चौतर्फी रुपमा आफुलाई समेत पालिकाको बेथितिबारे गुनासो सुन्नु परेको चर्चा गर्दै उनी भन्छन्– पालिकामा रहेका यस अघिका जनप्रतिनिधिबाट आजित भएर छिन्नमस्ता पालिकाका जनताले मलाई अध्यक्ष पदमा उम्मेदवारी दिन गरेको आग्रहलाई नकार्न सकिन, मलाई विश्वास छ, म चुनाव अत्यधिक मतको अन्तरले जित्छु र म काम गरेर देखाउँछु ।

मधेशका मसिहा भनेर चिनिने स्व. गजेन्द्रनारायण सिंहको सद्भावना परिषद्बाट मधेशको राजनितीमा होमिएका उनी नेपाल सद्भावना पार्टीको केन्द्रीय सदस्य हुँदै हाल जनता समाजवादी पार्टीको प्रदेश सदस्यको जिम्मेवारीमा रहेका छन् । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वहन गरेका उनले चुनाव जितेपछि गाउँपालिकालाई व्यवस्थित गर्दै जनतालाई दिईने सेवा सुविधालाई व्यस्थित एवम् सहज बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी एवम् स्तरोन्नती, विद्यालयहरुको भौतिक पूर्वाधारलाई सुधार गर्दै गुणस्तरीय शिक्षा, एक टोलदेखि अर्को टोलसम्म जोड्ने सडक सञ्जाल विस्तार, छिन्नमस्ता भगवतीलाई पर्यटकमैत्री बनाउन विभिन्न सेवा सुविधा विस्तार, सखडा बजारलाई व्यवस्थित गर्ने, गरिब, दलित एवम् विपन्न जाति एवम् समुदायका लागि विशेष कार्यक्रमम सञ्चालन, जातीय विभेद, तथा कुरितीहरु अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालन, वडा कार्यालयहरुलाई व्यवस्थित गर्दै जनताको घरदैलोमा सेवा विस्तार, युवाहरुलाई स्वरोजगारमूलक कार्यक्रमसँग जोड्ने, कृषिमा आधुनिकीकरण, सिंचाई सुविधा, महिला, बालबालिका एवम् ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, शान्ति सुरक्षा, वातावरणमैत्री अभियान लगायतका कार्यक्रमहरु अगाडि बढाउने सोच राखेका छन् । लामो राजनीतिक यात्रामा सिकेका अनुभवलाई छिन्नमस्ता गाउँपालिकाको समग्र विकास गर्नमा लगाउने अध्यक्ष पदका प्रत्यासी सत्यनारायणको प्रतिवद्धता छ ।

जनताले आफुलाई मौका दिए काम गरेर देखाउने बताउँदै उनी भन्छन्– जनताले आवश्यकता महशुष गरेर उम्मेदवार बनाएको हो, जनताकै लागि काम गर्ने सङ्कल्प छ, तपाईहरु मत दिनु म विकास र समृद्धि दिन्छु । उनी स्पष्ट एवम् वौद्धिक नेताको रुपमा चिनिन्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस