अब एमालेले संसद अवरोध नगर्ने

काठमाडौं । नेकपा एमालेले नौ महिनादेखि जारी संसद्को अवरोध हटाएको छ । २३ भदौ २०७८ देखि चल्न नदिएको संसद् बैठक एमालेले मंगलबारबाट सुरु भएको बजेट अधिवेशन चल्न दिएर अन्त्य गरेको हो ।

एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्मा गराएका हुन् । यो नौ महिनाको अवधिमा एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १ सय ४३ दिनसम्म संसद् बैठक अवरोध गरेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

उसले सभामुख अग्निप्रसाद सापकोटाले नेपालसहितका नेतालाई सांसदबाट हटाउन बेवास्ता गरेको भन्दै सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने माग गर्दै आएको थियो । तर, ती माग पूरा नहुँदै संसद् अवरोधबाट एमाले पछि हटेको हो । एमाले उपमहासचिव ज्ञवालीले पार्टीले आफ्ना असन्तुष्टि फरक शैलीमा प्रस्तुत गर्नेगरी संसद् बैठकमा भाग लिने जानकारी गराए । ज्ञवालीले संसद्को अवरोध खुलाउनुको कारण खुलाउँदै भने, ‘भर्खरै सम्पन्न निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् । दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउने, दल विभाजन पूरा भएपछि फिर्ता लिने सभामुखजस्तो गरिमामय संस्था कुनै न कुनै रूपमा जोडिने, अदालतमा यस मामिलामा सहयोगी बन्ने, अन्य मानिस पनि सहयोगी बन्ने स्थिति असहज हो र असहज रहनेछ । यस विषयमा हाम्रा धारणा निरन्तर रूपमा रहनेछन् तर पनि मुलुक एउटा कोर्समा गइसकेको हामीले आजदेखि यो अवरोध र विरोधलाई फरक ढंगले प्रस्तुत गर्ने निर्णय गरेका छौं ।’

उनले मुलुक झन्डैझन्डै राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकाले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू सत्ता सेटिङमा नै व्यस्त रहेको आरोप लगाए । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस