मिटरब्याजी रामदेव प्रकरणः सम्पत्ति छानविन गर्न अनुसन्धान विभागमा उजुरी

राजविराज । सप्तरीको मिटरब्याजी रामदेव साह तेली र उनका परिवारको सम्पत्ति छानविन गर्न सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी पठाइएको छ ।

मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित सर्घष समिति, सप्तरीले शुक्रवार विभागमा उजुरी पठाएको हो । समितिका संयोजक छेदीलाल पासवानले मिटरब्याजी साह र उनका परिवारिक सदस्यहरुको सम्पत्ति छानविनको माग सहित जिल्ला हुलाक कार्यालय मार्फत उजुरी पठाएका हुन ।

उजुरीमा मिटरब्याजी साह र उनका परिवारजनले विगत ४० वर्षदेखि अबैध रुपमा आर्थिक कारोबार र लेनदेन गर्दै आएको तथा यसबाट प्रचुर मात्रामा सम्पत्ति आर्जन गरेको उल्लेख गरिएको छ ।

गााउँघरका विपन्न व्यक्तिलाई १ सयको प्रति दिन ३ देखि ५ रुपैयाको चर्काे ब्याज (खेपी) मा लगानी गर्ने, जग्गा पास तथा सुनचादी राखेर मात्र ऋण दिने र सोको रकम चुक्ता गरिसके पनि बन्धकी राखेको जग्गा र गरगहना फिर्ता दिन आलटाल गर्ने गरेको र अधिकाँशको बन्धकी राखिएको गरगहना र जग्गा नै हर्पि अकुत सम्पत्ति जोडेको साह परिवारको सम्पत्तिको छानविन गर्न समेत उजुरीमा माग गरिएको छ ।

साह परिवारले सप्तरीमा मात्र नभई सुनसरी, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लामा समेत मिटरब्याजको अबैध कारोबार संचालन गरी सयौं परिवारलाई उठीवास गराएकाले सम्पत्ति सुद्धिकरण निवारण एन २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख, ग उपदफा २ र ३ को व्यवस्था विपरीत कसुरमा आवश्यक छानविन र कारवाही गर्न माग गरीएको छ ।

जिल्लाको खडक नगरपालिका–७ निवासी साह र उनका परिवार विरुद्ध यसअघि ९ जना पीडीतहरुले चौब्बरको किर्ते कागजात बनाई जग्गा हडपेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस