‘प्रेस’को दुरुपयोग गर्ने विरुद्ध पत्रकार महासंघको एक्सन

राजविराज । अनाधिकृत रुपमा सवारीसाधनमा प्रेस लेखेर चलाउने गरेको पाइएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नियन्त्रणको प्रयास थालेको छ ।

असम्बन्धित (पत्रकार बाहेक)व्यक्तिले पनि मोटरसाइकलसहितका सवारी साधनमा ‘प्रेस’लेखेर कुदाउने गरेको पाइएपछि महासंघले नियन्त्रणका लागि सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको हो । बुधवार सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक पत्र बुझाउँदै प्रेस लेखिएको सवारीसाधनको अनिवार्य नियम बमोजिम चेकजाँच गरेर सहयोग गरिदिन हुन अनुरोध गरेका हुन् ।

‘नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित कार्य भइरहेको पाइयो’ महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाइएको पत्रमा भनिएको छ, ‘त्यस्ता व्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने ‘प्रेस’ शब्दको पनि दुरुपयोग भइरहेको छ ।’

चेकजाँच गर्दा आवश्यक परेको खण्डमा महासंघका अध्यक्ष र सचिवसँग समन्वय गर्न पनि पत्रमा उल्लेख गरिएको छ । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यो कार्यका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘प्रहरीले प्रेस लेखिएको सवारीसाधनप्रति ध्यान दिनेछन्’, उनले भने ।

पत्र बुझाउने क्रममा उपस्थित रहेका सप्तरी प्रहरीका प्रवक्ता एवम् डिएसपी माधव प्रसाद काफ्लेले सो कार्यका लागि प्रहरी तयार रहेको बताए ।

महासंघका अध्यक्ष देवले असम्बन्धित व्यक्तिलाई सवारीसाधनमा प्रेस लेखेर नचलाउन आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस