राजविराज, १९ भदौ । सप्तरीको राजविराजमा १५ औं पुस्तकालय दिवश एवम् वडादशैंको अवसर परेर साहित्यिक संस्था साझा प्रकाशनले आइतवारदेखि वृहत पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । सो प्रदर्शनीको राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविणले उद्घाटन गरेकी छिन् ।
उद्घाटन गर्दै कार्यवाहक मेयर प्रविणले यस्ता प्रर्दशनीले सम्पुर्ण भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । ‘प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पति प्रकाशनमा जोड दिँदै शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि आफुहरुले गर्नसक्ने हरसम्भव सहयोग गर्नेछौं ।’ उनले भनिन् ।
शाखा प्रबन्धक मनोज कुमार माझीले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक र उपयोगी पुस्तकको विक्री वितरण बृद्धि गर्ने उदेश्यले पुस्तक प्रर्दशनीको आयोजना गरिएको बताए । उनकाअनुसार सो प्रर्दशनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोष संग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तक छन् ।
एक हजार ६ सय भन्दा बढी लेखकको कृति राखिएको प्रर्दशनी भादौ ३१ गतेसम्म चल्ने र सो अवधी भर विभिन्न विद्याका पुस्तकमा २५ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको प्रबन्धक माझीले जानकारी दिए ।