भारतको कर्नाटकमा कांग्रेसको स्पष्ट बहुमत, भाजपाले गुमायो सत्ता

भारतको दक्षिणी राज्य कर्नाटकमा भएको विधानसभा चुनावको मतपरिणाम अन्तिमतिर आउँदा कांग्रेस आई पार्टीले स्पष्ट बहुमत ल्याएको छ । राज्यका २२४ सिटमध्ये कांग्रेसले १३७ सिट जित्ने देखिएको छ । यो समाचार तयार पार्दासम्म उसले ११४ सिटमा जित हात पारिसकेको छ भने २३ सिटमा अग्रता बनाएको छ । कांग्रेस हाल यहाँको विपक्षी पार्टी हो ।

पार्टीले जित हात पारेसँगै आइतबारका लागि विधायक दलको बैठकसमेत बोलाइएको छ । आइतबार बेंगलरुमा बस्ने विधायक दलको बैठकले भावी मुख्यमन्त्रीबारे निर्णय लिने जनाइएको छ ।

उता हालको सत्तारुढ पार्टी भारतीय जनता पार्टीले भने कर्नाटकमा नराम्रो पराजय भोगेको छ । उसले यहाँ ६३ सिट मात्र जित्ने देखिएको छ । उसले यो समाचार तयार पार्दासम्म ५७ सिट जितेको छ भने ६ सिटमा अग्रता बनाएको छ ।

२०१८ को चुनावमा यहाँ कांग्रेस आईले ८० सिट जितेको थियो भने भाजपा १०८ सिटका साथ सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, अहिले कांग्रेसले यहाँ ऐतिहासिक जित हात पारेको हो । यसअघि यो राज्यमा सन् १९९९ मा कांग्रेसले १३२ सिट जितेको थियो ।

उता जनता दल सेक्युलरले २० सिट जित्ने देखिएको छ । १९ सिटमा जित हात परिसकेको सो पार्टीले थप एक सिटमा अग्रता बनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस