सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

जनकपुरधाम – सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा सो रकमको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब आठ करोड विनियोजन गरिएको छ ।

आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा चार खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ ।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस