अल्पसंख्यकको प्रहरीसँग गुनासो–जनप्रतिनिधिहरु जितेर जान्छन् तर विकास गर्दैनन्

राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका अल्पसंख्यकहरुले विगतमा जितेर गएका जनप्रतिनिधिहरु फर्केर नआउँदा आफुहरुको समस्या ज्यूँका त्यूँ रहेको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार वडा नम्वर ७ सदा टोलस्थित आयोजना गरेको ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम अन्तर्गत अन्तरक्रियाका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । ‘चुनावको बेला नानाथरी आश्वासन बाँडेर भोट लिन्छन् तर त्यसपछि कहिले फर्केर आउँदैनन्’ स्थानीय केसियादेवी सदाले भनिन्, ‘फर्केर नआउँदा बस्तीमा पानी जम्ने समस्यादेखि वर्षेनी बाढीको त्रास खेप्न बाध्य छौं हामी ।’

उनले जनप्रतिनिधिहरु आफुहरुलाई भोट बैंकका रुपमा प्रयोग मात्रै गर्दै आएको प्रति दुःख व्यक्त गरिन् । ‘ऐलानी जग्गामा घर छ, त्यो पनि भारत सरकार अधिनको जग्गा हो । कतिबेला उठिवास हुने टुंग्गो छैन्’ उनले भनिन्, ‘तर, जनप्रतिनिधिले यस्ता विषयहरुमा चासो राखेकै छैन् । गरिबलाई हेर्ने जनप्रतिनिधि नै भएन ।’

अर्का स्थानीय मदिना मरिकले जनप्रतिनिधिको उदासिनताका कारण आफुहरुलाई जनता आवास कार्यक्रमबाट वञ्चित रहनु परेको बताइन् । ‘झुपडीमा बसोवास छ, बर्खायाममा त्यो पनि डुवान भएर सडक पेटी वा आफ्न्तकोमा बास मागेर जीवन चल्दैछ’ उनले भनिन्, ‘आफुहरुका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रम पनि आफु समक्ष आइसकेको छैन्, माग्न जाँदा त्यसमा पनि पैसै माग्छन् हाकिमहरुले ।’

उनले जनप्रतिनिधिलाई गुनासो गर्दा सुनुवाई नहुने गरेको बताइन् । ‘एक त उहाँहरुलाई भेट्नै मुस्किल, भेट्न पाइयो भन्ने पनि चासो नै लिइदिनुहुन’ उनले भनिन्, ‘गुनासोका लागि मञ्च दिएकोमा प्रहरीलाई धेरै धेरै धन्यवाद र अब हाम्रो गुनासो सम्बोधन होस् भन्ने अपेक्षा पनि ।’

अर्का स्थानीय सुन्दर सदाले बस्तीका अधिकांश व्यक्तिले नागरिकता नपाएका कारण राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित रहेको दुखेसो गरे । ‘पुस्तौं–पुस्तादेखि हाम्रो यहीँ बसोवास छ तर नागरिकता पाउन सकेका छैनौं’ उनले भने, ‘नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हो नै, बच्चाहरुको जन्मदर्ता समेत बनाइ दिँदैनन् जनप्रतिनिधिले ।’

अन्तरक्रियामा नगर प्रमुख विरेन्द्र माझीले सर्वसाधारणबाट उठेका समस्याहरु ध्यानमा राखेर अघि बढ्ने बताए । ‘बस्तीका समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो र त्यो हामी गछौं’ उनले भने, ‘बस्तीबाट कसैले उठिवास गराइदिन्छ भन्ने कुरा नसोचे पनि हुन्छ, हामी यहाँहरुसँगै छौं ।’

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीले जिल्ला प्रशासन कार्यालयबाट समाधान हुनसक्ने खालका समस्यामा पहल गर्ने प्रतिवद्धता जनाइन् । अन्तरक्रियामा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूतिका निम्ति प्रहरीले कटिबद्ध रुपमा काम गरिरहेको बताए । ‘शान्ति–सुरक्षाको प्रत्याभूतिका निम्ति तपाईहरुलाई प्रहरीसँग चाहिएको सहयोग हामी हरक्षण गर्न तयार छौं’ उनले भने, ‘कानून कार्यान्वय गर्ने गराउने सवालमा पनि सप्तरी प्रहरी कटिबद्ध छ ।’

अन्तरक्रियामा भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख रामनारायण शर्मा, नापी कार्यालयका प्रमुख शत्रुधन यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललित साह, शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देव, वडास्तरका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780