राजविराज – सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध २०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनीहरुलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
फिल्डमा देखिएको भन्दा नापी किताबमा बढी देखाएर भुक्तानीको लागि कागजात पेस गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ को विनियोजित रकममध्ये बलान विहुल गाउँपालिका वडा नम्बर ४ को अधुरो वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवाप्रवाह भइरहे पनि कामभन्दा बढी भुक्तानी भएको ठहर विशेषले पनि गरेको छ ।
विशेषले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सवइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई पनि दोषी ठहर गरेको छ ।
फिल्डमा नभएको/नगरेको कामको मूल्यांकन गरी गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारले दाबी गरेको थियो। अख्तियारले उनीहरुसँग १० लाख ५ हजार ४९७ रुपैयाँ बिगो दाबी गरेको थियो ।
वडा नं. ४ वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिवशंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौताविपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारको दाबी छ ।