धरौटी बुझाएर थुना मुक्त भइन् उपमेयर मीरा, पति अझैं फरार (फलोअप)

राजविराज, ८ साउन । नेपाली नागरिकता सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवले सप्तरी जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।

सो मुद्दामा सोमबार जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले उपमेयर मीरालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । गत असार १९ गते पक्राउ पुर्जी जारी भएपछि २० गते उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् ।

परमादेशपछि मुद्दा दर्ता 

जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना (सो बेला) वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गत साउनको दोस्रो साता कृष्णले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीअनुसार उपमेयर मीरा र उहाँका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन्।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ ९ हाल डाक्नेश्वरी नगरपालिका ६ बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ ।

दुई महिनाअघि कृष्णले उच्च अदालतमा दायर गरेको सो मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएपछि प्रहरीमा मुद्दा भएको थियो ।

सो मुद्दाका अर्का आरोपी उपमेयर मीराका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् । उनको खोजी कार्य भइरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस