बीएकाे परीक्षामा त्रिविले भारतीय प्रश्नपत्र कपी गरेर बाँडेकाे विषयमा विद्यार्थी संगठनहरूले जनाए आपत्ति

‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिभुवन विश्वविद्यालयले भारतीय पाठ्यक्रमअनुसार तयार प्रश्नपत्र हुबुहु बाँडेको घटनाप्रति आपत्ति जनाउँदै विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गरेका छन् ।

बीए दोस्रो वर्षअन्तर्गत हिजो ‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र बाँडेको थियो । यो घटनालाई त्रिवि परीक्षा प्रणालीको चरम लापर्बाही भन्दै नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनलगायत विभिन्न संगठनले आपत्ति जनाएका हुन् ।

नेवि संघका सभापति दुजाङ शेर्पाले परीक्षा सञ्चालनजस्तो संवेदनशील विषयमा पनि लापर्बाही गरिरहनुले आम नागरिकमाझ विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रको विश्वसनियतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् । साथै विश्वविद्यालयले प्रश्नपत्र र समग्र परीक्षा प्रणालीमाथि भइरहेको लापर्बाहीको अन्त्य गर्दै दोषीलाई कारबाही नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिका लागि विश्वविद्यालय नै जिम्मेवार हुने चेतावनीसमेत दिएका छन् ।

त्रिविलले साउन ८ गते लिएको चार वर्षे बीए तेस्रो वर्षको इतिहास ४१०, (इलेक्टिभ २), पर्यटन विकासको परिचय विषयको प्रश्नपत्र भारतको अमुक प्रश्नपत्रको प्रतिलिपी गरेर जस्ताको त्यस्तै सोधेको र एक घण्टामा प्रश्नपत्र पुनः निर्माण गरी परीक्षा सञ्चालन गरेको विषय निन्दनीय भएको उनको भनाइ छ । यद्यपि, प्रश्नपत्र दोहोरिएको घटना यो नै पहिलो होइन, यसअघि एमए प्रथम र तेस्रो समेस्टर तथा बीबीए छैटौं सेमेस्टरमा प्रश्नपत्र दोहोरिँदा विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

यस्तै, अनेरास्ववियुले पनि पाठ्यक्रमभन्दा बाहिरको प्रश्नपत्र वितरण गरेको घटनाले त्रिविको परीक्षा प्रणालीको लापर्बाही उदाङ्गो भएको बताएको छ । पछिल्लो घटनाका जिम्मेवार अधिकारीलाई कारबाही गर्न पनि उसले माग गरेको छ ।

संगठनका अध्यक्ष समिक बडालले विज्ञप्तिमा भनेका छन्, ‘त्रिवि सेवा आयोगको नेतृत्व चयन खुल्ला प्रतिस्पर्धाबाट नगरी, योग्य प्राध्यापक र कर्मचारी छनोट गर्न रोकेर आयोगलाई निकम्मा बनाउने सरकारको नालायकीपनका कारण त्रिविमा प्राज्ञिक वातावरण दिन प्रतिदिन ह्रास भइरहेको वर्तमान अवस्थामा आफ्नो विरासत जोगाउन त्रिविमा व्यापक सुधार आवश्यक देखिन्छ’, अनेरास्ववियुले भनेको छ ।

यसैगरी त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति एव त्रिविसभा सदस्य श्यामराज ओझा, पुल्चोक क्याम्पसका स्ववियु सभापति एवं त्रिविसभा सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस काठमाडौंका स्ववियु सभापति एवं त्रिविसभाका आमन्त्रित सदस्य विष्णु ढुंगेलले पनि संयुक्त विज्ञप्ति जारी गर्दै हिजोको घटनाकाे निन्दा गरेका छन् ।

‘त्रिविद्वारा सञ्चालित बीए तेस्रो वर्षको हिस्टोरी ४१०, इलेक्टिभ २. इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिर रहेर निर्माण गरिनुका साथै इन्डियन प्रश्नपत्रको हुबहु प्रतिलिपी सोधिएको र सो कुरा पत्ता लागेपश्चात् विद्यार्थीलाई एक घण्टाभित्र अर्को प्रश्नपत्र निर्माण गरी परीक्षा लिएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

यसअघि एमए प्रथम र तेस्रो सेमेस्टरमा तथा बीबीए छैटौं सेमेस्टरमा प्रश्नपत्र दोहोरिँदा विश्वविद्यालयमा भएको विद्यार्थीको आन्दोलनपछि प्रश्नपत्र निर्माणसम्बन्धी कार्यविधि बनेको थियो । ‘त्यो पनि लागू नगर्ने तथा पदाधिकारीले दोषीलाई गोप्य रूपमा कारबाही गरेको बहाना गर्दै प्रश्नपत्रका विचौलियालाई पुरस्कृत गर्नेजस्ता घृणित कार्य गरेको कारण प्रश्नपत्र निर्माणमा लापर्बाही बढिरहेको पुष्टि भएको छ’, विज्ञप्तिमा उनीहरूले भनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस