‘कमिसन’ प्रकरण : करार अवधि सकिए पनि ‘पिसी’ उठाउनै कार्यालय पुग्थे कर्मचारी

राजविराज – सामाजिक विकास इकाई सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि सब–इन्जिनियर अजयकुमार साफीले कमिशन ‘पिसी’ लिएको रकम र चेक फ्याकी पर्खाल नाघेर भागेको प्रकरणमा थप नयाँ खुलासा भएको छ ।

भुक्तानी दिन माग गरेको नगद १५ हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक गत बिहिवार आयोगको टोलीले बरामद गरेको थियो । उपभोक्ता समितिसँग ‘पिसी’ रकम उठाइरहेका सब–इन्जिनियर साफीको सो इकाईमा करार अवधि नै समाप्त भइसक्दा पनि ‘पिसी’ उठाउनै कार्यालय पुग्ने गरेको खुल्न आएको हो ।

डेढ वर्षअघि सब–इन्जिनियर साफीले नियुक्ती पाएका थिए । इकाई प्रमुख दुनियालाल यादवकै गाउँले रहेका साफीको गत असार ३१ गते नै करार समाप्त भइसकेको छ ।

‘उनलाई पिसी उठाउने जिम्मेवारी नै दिइएकोले करार अवधि समाप्त हुँदा पनि कार्यालय आउने गर्थे’ नाम नछाप्ने सर्तमा कार्यालय श्रोतले भन्यो, ‘तर, छापा मारीपछि अहिले कार्यालय आउन छाडे पनि उपभोक्ता समितिसँग बाँकी रहेका पिसी उठाउने कार्य भने जारी नै राखेका छन् ।’

जिल्लाको बलान विहुल गाउँपालिका–३ मौहा निवासी साफीमार्फत नै ‘पिसी’ रकम इकाईका इन्जिनियर रामप्रकाश यादव र इकाई प्रमुख यादवसमक्ष पुग्ने गरेको श्रोतको कथन छ । ‘इन्जिनियर रामप्रकाशको हिस्सामा २ देखि ३ प्रतिशत तोकिएको छ भने अन्य रकम इकाई प्रमुखसहित अन्य कर्मचारीले लिने गरेका छन्’ श्रोत भन्यो, ‘हाकिमले हरेक योजनामा ७ देखि १२ प्रतिशत र ३ देखि ४ प्रतिशत अन्य कर्मचारीको भागमा पर्ने गरेको छ ।’

अहिले ‘पिसी’ वापत चेक बुझाएकाहरुलाई नगद नै दिनका लागि दवाब दिँदै आएको उपभोक्ता समितिमा रहेकाहरु बताउँछन् ।

‘यसअघि गरेको कार्यको भुक्तानी लिनका लागि चेकबाटै पिसी दिए, चेकको रकम पनि झिके तर पछिल्लो पटक दिएको चेकको रकम अझैं झिकेको छैन्’ उनले भने, ‘अहिले अर्को व्यक्ति लगाएर नगदै बुझाउनका लागि दबाव दिइरहेका छन्, २–३ दिन मलाई समय दिनू, स्टेटमेन्ट नै ल्याएर दिन्छु तर अहिले नै नाम उल्लेख नगरिदिनुहोला ।’

स्वास्थ्य कार्यालयमा ‘पिसी’को कारोबार

आयोगको इटहरीबाट आएको टोलीले छापा मारि गर्दा स्वास्थ्य कार्यालयको पहिलो तल्लाको भर्याङमा सब–इन्जिनियर साफीले ‘पिसी’ लिइरहेको पाइएको थियो ।

सूचनाको आधारमा खटिएको टोली अगाडीको गेडबाट प्रवेश गर्नासाथ पछाडीको गेडबाट भागेका सब–इन्जिनियर साफीले पर्खाल नाघ्ने क्रममा नगद र चेक फालेका थिए । सो विषयमा थप अनुसन्धान भइरहेको आयोगको इटहरीस्थित कार्यालयले जनाएको छ ।

यता, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख समेत रहेका इकाई प्रमुख यादवले सब–इन्जिनियर साफीसहित अन्य कर्मचारीको पनि करार अवधि सकिसकेको बताए । ‘सबै जसो कर्मचारीको करार अवधि सकिसकेको छ, केही काम बाँकी रहेकोले त्यो दिन सब–इन्जिनियर साफी कार्यालय आएको हुनसक्छ तर यकिन हुन सकेको छैन्’ उनले भने, ‘तर, मैले कुनै खाले पिसी लिएको वा लिने गरेको छैन् ।’

सो विषयमा इन्जिनियर रामप्रकाशसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस