सिडिओले त्रुटि स्वीकार गरेपछि पत्रकार महासंघको आन्दोलन स्थगित

राजविराज – जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी जारी गरेको सूचना त्रुटिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले स्वीकार गरेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले थालेको आन्दोलन स्थगित भएको छ ।

मंगलबार महासंघ र जिल्ला प्रशासन कार्यालयबीच भएको वार्ता र छलफलपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष श्रवणकुमार देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जिल्ला प्रशासन कार्यालयले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे नेपाल पत्रकार महासंघ शाखा सप्तरीले चरणवद्ध आन्दोलनको घोषणा गरि अगाडि बढेको सबैलाई जानकारी नै छ । २०८० साउन २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना फिर्ता लिएपनि त्यसलाई त्रुटी स्वीकार नगर्दा हामी आन्दोलनलाई निरन्तरता दिएका थियौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसपछि जिल्ला प्रशासन कार्यालयले पटक–पटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर हामी पत्रकार महासंघका पदाधिकारी र सदस्य वार्तामा बस्यौं ।’

वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र सिडिओ थापाले गल्ती भएको भन्दै माफी समेत मागेको विज्ञप्तिमा जनाएको छ । ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।’, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी महासंघलाई जानकारी गराउने प्रतिबद्धता जनाएको विज्ञप्तिमा जनाइएको छ ।

‘पत्रकार महासंघले उठाएका उक्त दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिएको जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘अन्त्यमा, नेपाल पत्रकार महासंघको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने. सम्पूर्ण पत्रकार, सरोकारबालाका साथै ऐक्यवद्धता जनाउने विभिन्न संघ संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780