सप्तरीको प्रगति हुने काममा आफु हिस्सेदार भएर काम गर्नेछु : सिडिओ थापा

राजविराज – प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले सप्तरीको प्रगति हुने काममा आफु हिस्सेदार भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार सप्तरी उद्योग बाणिज्य संघले आयोजना गरेको ‘स्वागत तथा अभिवादन कार्यक्रम’मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जिल्लामा देखिएका समस्या समाधानकोलागि उद्योग व्यवसायी, निर्माण व्यवसायी, नागरिक समाज, पत्रकार लगायतकासँगै मिलेरै अगाडि बढौं’ उनले भने, ‘जिल्लाको प्रगति हुने काममा आफु हिस्सेदार भएर काम गर्नेछु ।’

उनले कानुन उल्लघंन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने बताए । ‘सबैलाई कानुन अनुसार काम गर्नुपर्छ तर कानुन विपरीत हिड्नेबिरुद्ध निर्मम तरिकाले प्रस्तुत हुन्छौं’ उनले भने, ‘नियम अनुसारको हरेक सहयोग गर्न हामी तयार छौं ।’

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले खुल्ला सीमा नाकामा भइरहेको चोरी तस्करीका कारण व्यवसायको अवस्था खस्किदै गएको बताए । ‘अहिले खस्किदो व्यापार र बढ्दो बैंकको ब्याजदरले व्यवसाय सञ्चालन गर्नका लागि लिइएको घरभाडा तिर्ने र कर्माचारीको तलब दिन समेत व्यवसायीलाई समस्या भइरहेको छ’ उनले भने, ‘चोरी तस्करी नियन्त्रणका साथै यो अवस्था सुधार गर्न प्रशासन र प्रहरीको सहयोग चाहिन्छ र सहयोग गर्न पनि आग्रह छ ।’

उनले मिटरब्याजीतर्फ लेनदेनको समयसीमा निर्धारण नहुँदा पनि उद्योगी व्यवसायीकासाथै अन्यलाई पनि समस्या भइरहेको गुनासो गरे । ‘मिटरब्याजीलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो पनि बुझाइ हो तर लेनदेनको समयसीमा के होरु, दशकौंअघि लेनदेन भएर विषयवस्तु मिलापत्र भइसकेको कारोबारमा पनि मिटरब्याजीमा मुद्दा हालेर उद्योगी व्यवसायीकासाथै अन्यलाई तनाव दिने काम हुँदै आएको हामी समक्ष व्याप्त गुनासो आइरहेको छ’ उनले भने, ‘पीडितले न्याय पाउनुपदर्छ तर अनाहकमा कसैलाई मिटरब्याजीको नाममा तनाव र दुःख दिनु पनि राम्रो होइन नि ।’

पीडित भनिएकाको वास्तविकता बुझेर मात्रै निवेदन दर्ता हुनुपर्ने र सत्यतथ्य बुझेर मात्रै छलफल गराउनुपर्ने अध्यक्ष अग्रवालले आग्रह गरे । ‘एकातिर उद्योगी–व्यवसायीलाई आर्थिक मन्दीले तनाव, त्यसमाथि कतिपयलाई मिटरब्याजीको नाममा अनाहकमा तनाव दिँदै आएको प्रति हामी दुःखी छौं’ उनले भने, ‘यसमा तपाईहरुको गम्भीर ध्यानाकर्षण होस् ।’


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणकुमार प्रधानले प्रशासकले सप्तरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आग्रह गरे । ‘हाम्रो जिल्ला ७७ वटै जिल्लाभन्दा उत्कृष्ट छ तर प्रशासकलाई पहिला नै सप्तरीको बारेमा नाकारात्मक बनाएर पठाउँछ, यो सरासर गलत हो’ उनले भने, ‘यो हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ, यहाँका बासिन्दा जति सरल छ त्यति कतैको पनि छैन् ।’

कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतकाले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी थापासहितका सुरक्षा अधिकारीहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

सो कार्यक्रममा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी थापा, अनुसन्धान विभागका उप निर्देशक सुरेन्द्र कोइराला र नेपाली सेना राजविराजस्थित बरख गणका गणपति रमेश पाण्डेलाई उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अग्रवाल र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले माला, गम्छा र अबिरले स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780