केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्दैछन् : अध्यक्ष यादवं

राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् ।

बिहिवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आयोजना गरेको स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको ३० औं स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यतिबेला केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढको देखिन्छ, झन पछिल्लो समय ती युट्युबरले बालबालिकालाई मानसिक असर पर्ने खालका सामग्री नै पस्किन लागेको पनि देखियो’ उनले भने, ‘यसलाई नियमन गर्न पत्रकार महासंघले पनि तदारुकता देखाउनुपर्ने हो, हामीबाट हुने गर्छौ नै ।’

त्यस्तो युट्युबरहरुलाई सचेत गराउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले मर्यादित र समाजको हकहितमा टेवा पुर्याउने ढंगले पत्रकारिता गर्न सुझाए ।

सो कार्यक्रममा महासंघ शाखा सप्तरीले स्थापना गरेको ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार डम्वर राई सम्मानित भएका छन् । प्रमुख अतिथि यादव र विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले राईलाई नगद ५ हजार ५ रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

एक दशकदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका राई स्थानीय पत्रिकामा कार्यरत छन् । जिल्लाको कञ्चनरुप नगरपालिका–१२ का उनी प्रेस चौतारी, सप्तरीका अध्यक्ष पनि हुन् ।

त्यस्तै, सोही कार्यक्रममा ‘आजको वातावरण दैनिक’का सम्पादक बैधनाथ झाले स्थापना गरेको ‘वातावरण पत्रकारिता पुरस्कार’बाट पत्रकार अरुण कुमार यादवलाई सम्मानित गरिएको छ ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–२ का यादव करिब दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत छन् । उक्त पुस्कार प्रत्येक वर्ष स्व.उमा सिंहको स्मृति दिवसमा प्रदान गर्दै आएको छ ।

महासंघ शाखा सप्तरीका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य साह, महासंघ शाखा सप्तरीका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव र धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस