निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि नै आन्दोलित

राजविराज–निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि (वडा सदस्यहरु)ले संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने भएका छन् ।

आइतवार वडा नम्वर २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा बसेको बैठकले विरोध स्वरुप माघ ४ गते बिहिवारदेखि ७ दिनसम्म धर्ना बस्ने निर्णय भएको हो । यसअघि पुस २२ गते आइतवार कार्यवाहक मेयर इसरत परविनलाई बुझाइएको ज्ञापन–पत्रमा उल्लेखित जनहीतसँग जोडिएका ७ बुँदे माग सम्वोधन नभएपछि थप आन्दोलनका कार्यक्रम अघि सारेको संघर्ष समितिका संयोजक वडा सदस्य रामानन्द देवले जानकारी दिए ।

नगरपालिका कार्यालयको परिसरमा बस्ने एक घण्टे धर्ना कार्यक्रमले पनि सुनुवाई नभए थप आन्दोलन चर्काइने उनले बताए ।

‘निर्वाचित भएको डेढ वर्षभन्दा बढी समय वित्न लागेको छ तर अहिलेसम्म कार्य शैली हेर्दा निरंकुशता हावी भएको र हामी वडा सदस्यहरुले नै अधिकार विहिनता महसुस गरिरहेको अवस्थामा यहाँका आम जनताले के अधिकार पाउँलान् ? भन्ने ठुलो प्रश्न चिन्ह खडा भएको छ ।’, उनीहरुले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ ।

नगरपालिकाका १६ वटै वडाका ४४ जनाभन्दा बढीको सहभागीता रहेको उक्त आन्दोलनबाट बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । नगरको मुख्य बजार क्षेत्रमा वर्षौदेखी बसोवास गर्दै आएका बिटोरी जग्गावाहक ५ हजारभन्दा बढी परिवार विगत सात वर्षदेखी समस्या पर्दा विक्रि गर्न र बैंकमा राखेर ऋण समेत लिन सकेका छैनन् । समस्या पर्दा जग्गा बैंकमा धितो राखेर ऋण समेत लिन नपाउँदा कतिपय समस्या परेका बेला साहु महाजनसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएका छन् ।

त्यस्तै, नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ ।

त्यस्तै, नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्नेसहितका उनीहरुले ज्ञापन–पत्रमार्फत माग समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस