सप्तरीको नेपाल–भारत सीमामा बढ्यो सशस्त्र प्रहरीको निगरानी

राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी र डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता गाउँपालिकाबाट उक्त अवैध मालसमान बरामद गरेको हो ।

आइवार साँझ जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित सुरक्षा बेश भारदहका टोलीले चेकजाँच क्रममा ग ३ च ५१५९ नम्वरको भ्यानबाट बिल विजक नभएको ६७५ प्याकेट (२७ बोरा) पाउडर दुध बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीको कमाण्डमा खटिएको टोलीलाई हेर्नासाथ भ्यान चालक फरार भएका थिए । उक्त उक्त पाउडर दुधसहित भ्यान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अनुसन्धान कार्यालय ईटहरीमा बुझाईने प्रक्रियामा रहेको जनाएको छ ।

त्यस्तै, आज (सोमबार) विहान डाक्नेश्वरी नगरपालिका–३ स्थित हटेलबाट ४६ हजार ३ सय ३० रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको छ । बोर्डर ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी हवल्दार धनबहादुर साउदको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको उक्त आवश्यक कारबाहीमा बुझाउने प्रक्रियामा रहेको छ ।

त्यस्तै, आज विहानै सोही नगरपालिका–३ स्थित तरहीबाट पनि ५९ हजार ८ सय रुपैयाँको अवैध कपडा बरामद गरेको छ । बोर्डर ईलाकामा भारतबाट भन्सार छली गरी नेपालतर्फ टाउँकोमा बोकेर ल्याउँदै गरेको उक्त कपडा प्रस्तावित गुल्म पातोबाट सशस्त्र प्रहरी नायव निरीक्षक शुभनारायण मण्डलको नेतृत्वमा खटिएको गस्ती टोलीलाई हेर्नासाथ उक्त कपडा फालेर फरार भएका थिए ।

त्यस्तै, छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरस्थित बोर्डर ईलाकाबाट ना ५७ प ४४७६ नम्वरको मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ६२ हजार रुपैयाँ बराबरको किरानाका मालसमान बरामद गरिएको छ ।

आज विहान विओपी छिन्नमस्ताबाट सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद विकको नेतृत्वमा खटिएको टोलीलाई हेर्नासाथ उक्त मोटरसाइकल र किरानाका मालसमान छाडेर भागेका थिए । उक्त बरामदित मोटरसाइकल र मालसमान भन्सारमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस