बाइस जिल्लाको मधेशका लागि सङ्घर्ष जारी छः उपेन्द्र

 

वीरगन्ज, ५ माघ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै २२ जिल्लाको मधेशका लागि अझैं संघर्ष जारी रहेको बताएका छन् ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेशी शहीद प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको छैठौ बलिदानी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफुहरुको माग समग्र मधेश एक स्वायत मधेश प्रदेश रहेको चर्चा गर्दै उनले भने ‘हामीहरुको माग २२ जिल्लाको स्वायत्त मधेश प्रदेश थियो तर षडयन्त्रपूर्वक मधेशलाई खण्डित गर्ने काम भयो, आठ जिल्लाको मधेशलाई संरक्षण गर्दै २२ जिल्लाको मधेशका लागि अझैं संघर्ष जारी छ ।’

संघीयता बलियो बनाउनु पर्नेमा जोड दिंदै उनले मधेशले बराबरीको अधिकार पाउन अझै पनि बाँकी रहेको बताए । ‘मधेशको जनसंख्याको आधारमा समानुपातिक ढंगले बजेट विनियोजन गरेमा मात्र मधेशको विकास हुन्छ’ जसपा अध्यक्ष यादवले भने ‘जनसंख्या बढी मधेशमा छन तर, बजेट बढी अन्यत्र बिनियोजन गरिन्छ ।’

शहीदहरुले गरिबी, बेरोजगारी, अशिक्षा, विभेद र असमानताबाट मुक्तिको सपना देखेर बलिदानी दिए त्यसलाई पूरा गर्न अहिले पनि संघर्ष जारी रहेको उनले बताए । उनले भने ‘जब संघर्ष गरेर गरिबी, बेरोजगारी, अशिक्षा, बिभेद र असमानताबाट मुक्ति पाइन्छ तब मात्र वास्तवमा शहीदहरुको सपना पूरा हुने बताउर्दै आफूहरुको उद्देश्य पनि त्यही छ ।’ चुरे उत्खनन् एवम् दोहन कार्यलाई नरोकिए मधेश मरुभूमिकरण हुने भएकोले यसतर्फ सबै सचेत रहनुपर्नेमा उनले जोड दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश आन्दोलनका घाइते तथा शहीद परिवारहरुको परिचयपत्र बनाई मधेश प्रदेश सरकारका अस्पतालहरुमा निःशुल्क उपचार गर्ने गरी कानुन बनाएर यसै वर्षदेखि लागू गर्ने घोषणा गरे । मधेश आन्दोलनका घाइते तथा शहीद परिवारहरुको सुख दुःखमा साथमा रहेको दाबी गर्दै मुख्यमन्त्री यादवले घाइते तथा शहीद परिवार जुन जागिर पाउनबाट बञ्चित भएका तिनीहरुलाई जागिर लगाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा ६३ शहीद परिवारलाई तीन÷तीन लाख र ७२ जना घाइतेका परिवारलाई एक÷एक लाखको चेक हस्तान्तरण गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले जानकारी दिए । गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समिमको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालवावु राउत, संघीय सांसद प्रदीप यादव लगायतले शहीदहरुको सपना साकार पार्न धेरै काम गर्न बाँकी रहेको बताए । सोही कार्यक्रममा मधेशगानको भिडियो समेत सार्वजनिक गरिएको छ ।

मधेश केन्द्रित दल र प्रदेश सरकारले मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा बलिदानी दिवस मनाउँदै आएको छ । मधेश प्रदेश सरकार गठन भएयता शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । मधेश प्रदेश सरकारले बलिदानी दिवसका अवसरमा माघ ५ गते सार्वजनिक बिदा समेत दिँदैआएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस