शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलन गर्नैपर्छ : डा.राउत

राजविराज–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले शासन व्यवस्थामा सुधारका निम्ति सडकमा आन्दोलन गर्नैपर्ने अवस्था आइसकेको बताएका छन् ।

सप्तरीको राजविराजमा शनिवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिलेको सत्ताधारी शासक पहिलेभन्दा बढी प्रतिगामी छन्, अधिकार दिन चाहिरहेको छैनन् ।’ शासन व्यवस्था उत्कृष्ट भएता पनि यसको कार्यान्वयन स्वतन्त्र रुपले नभइरहेकोले आन्दोलनको लागि सबैलाई तयार रहनु आवश्यक रहेको उनको कथन छ ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपाललाई अंकित गर्दै अध्यक्ष डा.राउतले मन्त्रीपरिषद् चार नेताको चंगुलमा रहेको आरोप लगाए । ‘संसद तथा मन्त्रिपरिषदमा यीनकै निर्णयमा प्रत्येक काम हुने गरेको छ र अन्यको कुनै कुरा पनि चल्न दिँदैनन् ।’ उनले भने, ‘आफुहरु संसदमा चाहेर पनि कुनै काम गर्न सकिरहेको छैन् ।’

प्रधानमन्त्री, राष्ट्रपति (कार्यकारिणी) प्रत्यक्ष निर्वाचित हुनु पर्ने व्यवस्था ल्याउनु आवश्यक रहेको डा.राउतको कथन छ । उनले प्रधान न्यायधीश, निर्वाचन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायका प्रमुखको नियुक्ती राजनीतिक नभई जनताको मतले खुला प्रतिस्पर्धाबाट हुनुपर्नेमा जोड दिए ।

वर्तमान अवस्थामा पार्टी सरकारमै बस्ने कि निस्किने सन्दर्भमा बोल्दै उनले सरकारबाट आफै नबाहिरिने बताए । ‘सरकारमा रहनु पनि आफ्नो अधिकार हो तर सरकारमा बस्नैपर्ने सोच भने आफ्नो पार्टीको होइन’ उनले भने, ‘हामी सरकारमा रहेरपनि गलत कदममा साथ दिइरहेको छैन, त्यहाँ बसेसम्म जनताको बढी भन्दा बढी काम गर्ने प्रयासमा छौँ र हुन्छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस