अढाई करोड स्वाहा गरेर अढाई महिनामै भत्किएको बाँध पुनः बनाइँदै 

राजविराज – जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय राजविराजले सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा अढाई करोड रुपैयाँ स्वाहाः गरेर अढाई महिनामै भत्किएको बाँध निर्माण कार्य पुनः सुरु गरेको छ ।

उक्त बाँध भत्किएपछि डिभिजन कार्यालयका कर्मचारी र निर्माण कम्पनीले मिलेमतो गरी मच्चाएको ब्रह्मलूटबारे खुलासा गरेको थियो । सो विषय बाहिरिसँगै भत्किएको बाँध निर्माण कार्य पुनः सुरु भएको छ भने स्पर मर्मत कार्य पनि गरिने बताइएको छ ।

डिभिजन कार्यालयले २ करोड ७६ लाख २२ हजार ६ सय ७३ रुपैयाँ ७८ पैसा (करसहित) नदीमा बाँध र स्पर निर्माण गर्न सर्वशक्ति महामाया निर्माण सेवा प्रा.लि गोंगबु, काठमाडौंसँग ०७९ जेठ १८ गते सम्झौता गरेको थियो ।

०७९ पुस २५ गतेसम्म बाँध र स्पर निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, सो मितिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः ६ महिनाको म्याद थप गरियो । यद्यपी, बाँध र स्पर निर्माण कार्य भने गुणस्तरीय गर्न हुन नसकेको श्रोतले बताए । ‘त्यो बेला एकातिर बाढी आउने तनाव र अर्कोतिर थपिएको म्याद पनि सकिन लागेको थियो, हतार–हतारमा अधुरै काम भयो र  डिभिजन प्रमुख रमणकुमार साहसँग मिलेमतोमा असार ७ गते अन्तिम भुक्तानी वापतको ६१ लाख ८८ हजार ८ सय ५३ रुपैयाँ निकासा भयो’ श्रोतले भन्यो, ‘सम्झौता भने अघिल्लै डिभिजन प्रमुख रामकुमार खंगले गरेकाले वर्तमान डिभिजन प्रमुख साहले पनि अनुगमन विना नै अन्तिम भुक्तानी दियो ।’

बाढी आएर बाँध वा स्परमा क्षति पुगे पनि डिएलपी (डिफेक्ट लायविलिटी पिरियड) भित्रै रहने हुनाले इन्स्योरेन्स कम्पनीमाथि थुपार्ने डिभिजन प्रमुख साह र निर्माण कम्पनीको योजना रहेको उनको कथन छ । योजनाअनुसार नै गत भदौ ८ गते शुक्रवार विहान नदीमा आएको बाढीले बाँध भत्किएर सयौं घर डुवान भएर लाखौंको क्षति समेत भएको थियो ।

कुल ८ सय ५० मिटर बाँधिएको बाँध करिब ५ सय मिटर जति कटान भइसकेको थियो भने स्परमा पनि क्षति पुगेको छ । सो विषय बाहिरिपछि डिभिजन कार्यालयले निर्माण कम्पनीलाई बाँध मर्मतका लागि पत्राचार समेत गरेको थियो तर दुवैको मिलेमतोका कारण निर्माण कम्पनीले अनाकानी गर्दै आएका थिए ।

उता, सो योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । गत मंसिर २० गते नै उजुरी दर्ता गरी छानविन भइरहेको आयोगका कर्मचारी श्रोतले बताए । ‘उजुरी दर्ता भइ सम्बन्धित कार्यालयसँग आवश्यक कागजपत्र पनि झिकाइसकेका छौं र थप प्रक्रियाका लागि काम भइरहेको छ’, उनले भने ।

यता, डिभिजन प्रमुख साहले निर्माण कम्पनीले दुई साता अघिदेखि नै बाँध निर्माण कार्य सुरु गरेको बताए । ‘डिएलपीअनुसार निर्माण कम्पनीको बैंक ग्यारेन्टी पनि रोक्का रहेको छ र अहिले निर्माण कार्य पनि भइरहेको छ ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस