जनकपुरधाम–सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको जनाएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो । त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।
निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको अख्तियारको भनाइ छ ।
अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।