गजेन्द्रनारायण सिंह अस्पताल उत्कृष्ट उपचार सेवा दिने केन्द्र बन्नेछ : मन्त्री उपेन्द्र

राजविराज–उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई उत्कृष्ट उपचार सेवा दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढंगले अघि बढेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले शुक्रवार अस्पताल अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘अहिले कठिन अवस्था भएपनि विरामीलाई उपचार सेवा दिइराख्नुभएको छ । तर डाक्टर, प्राविधिक डाक्टर र उपकरणको अझैं धेरै आवश्यकता छ’ उनले भने, ‘र, अस्पतालका लागि निर्माणाधिन नयाँ भवनको कार्य पनि अन्तिम चरणमा पुगेको छ । त्यो हस्तान्तरण भएपछि ती समस्याहरु हल भएर जानेछ ।’

अहिले अस्पतालमा चिकित्सक र उपकरणसहित जनशक्ति र भौतिक संरचनाको आवश्यकता देखिएको मन्त्री यादवले बताए । ‘भौतिक संरचना अन्तिम चरणमा छ नै । डाक्टर प्राविधिकहरुको अझ धेरै व्यवस्था गरेर राम्रो उपचार दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढंगले अगाडी बढाउने मेरो प्रयास छ ।’, उनले भने ।

यसअघि ०७५ जेठ १८ गते यादव नै स्वास्थ्य मन्त्री नियुक्त भएसँगै ‘रेफरल सेन्टर’का नामले परिचित उक्त अस्पतालमा जेठ २१ गते डा.चुमनलाल दासलाई मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)मा पठाएपछि अस्पताललाई व्यवस्थित बनाएका थिए । तर, दुई वर्षपछि मेसु डा.दासको सरुवासँगै मुलुककै पुरानामध्ये उक्त अस्पतालमा पुनः उपचार सेवा खस्किँदै गएको स्थानीयहरु गुनासो गर्छन् ।

*सच्याइएको

Author:



क्याटोगरी छान्‍नुहोस