जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्व उपाध्यक्ष पक्राउ

झापा–झापामा जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा उनलाई शनिबार साँझ बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले बताए । गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुनेगरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको उनले जानकारी दिए ।

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौँच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको पोर्तेलको आरोप छ । पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस