मेयर गुप्ताको बारम्बार दलितमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति ! (भिडिओ)

राजविराज–डेढ वर्षअघि सप्तरीको कञ्चनरुप नगरपालिकामा उपचार नपाएर दुई सातामै ४० वर्ष मुनिका पाँच जना दलित विपन्नको मृत्यु भएपछि मेयर ललनप्रसाद गुप्ताले रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको विज्ञप्ति नै जारी गरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए ।

०७९ मंसिरमा वडा नम्वर १ का ३७ वर्षीय सुरज सदा, ९ का ३९ वर्षीय भिखो खंग, ४ की २६ वर्षीया बबिता पासवान, ४ कै ३१ वर्षीय राजदेव सदा र वडा नम्वर ८ का ३५ वर्षीय चन्दु सदाको मृत्यु भएपछि मेयर गुप्ताले आर्थिक अभावका नभएर रक्सी सेवन र चेतनाको कमीले मृत्यु भएको विज्ञप्तिमार्फत अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति दलितसम्बद्ध आधा दर्जनभन्दा बढी संघसंस्थाले आपत्ति जनाएका थिए ।

पछिल्लो पटक गत आइतवार दिउँसो वडा नम्वर ५ पडेमारास्थित सरदार टोलमा भिषण आगलागी भयो । आगलागीमा परेर २४ वटा घर–टहरी जलेर खरानी नै बन्यो ।

स्थानीय सुधिर सरदारको घरबाट सल्केको आगो फैलिएर उक्त दलित बस्तीका ११ परिवारको २४ वटा घर–टहरा, अन्नपात, नगद, गरगहना, बाख्रा र पाठोसहित लाखौं बराबरको धनमाल पूर्ण रुपमै जलेपछि साँझ बस्तीमा आएका मेयर गुप्ताले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै जनचेतना अभावले बस्तीमा आगलागी भएको बताए ।

‘यो बस्तीमा बारम्बार आगलागी हुन्छ र आज चाँही सुधिर सरदारको घरबाट आगलागी भएको हो’ उनले भने, ‘यसअघि आगलागी हुँदा म मेयर नहुँदा पनि सहयोग गरे तर यिनीहरुमा जनचेतनाको कमी मैले देखेँ किनभने यो टोल नै सरदार बस्ती हो !’

तर, नगरपालिकाबाट जनचेतनामूलक कार्यक्रममा मात्रै वर्षेनी लाखौं–लाख रुपैयाँ खर्च भइरहेको छ । यद्यपी, जनचेतना अभावले दलित बस्तीमा बारम्बार आगलागी भएको भनि भन्नमिल्छ र? भन्ने प्रश्नमा मेयर गुप्ताले भने, ‘आफ्नो धनमालको सुरक्षा आफैं पनि गर्नुपर्ने हो ।’

उक्त आगो राजविराज, हननुमाननगर र कञ्चनरुप नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस