राजविराज, ११ वैशाख । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित इटहर्वा बजार कनौली सितापुरको करोडौंको सार्वजनिक जग्गा ‘सेटिङ’ मा पटक– पटक खरिद विक्री भएको पाइएको छ ।
पछिल्लो पटक ०८० माघ २८ गते पुनः उक्त जग्गा खरिद विक्रीका लागि गाउँपालिकाबाट सिफारिस दिएको थियो । मोटो रकम लिएर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले सार्वजनिक जग्गा खरिद विक्री गर्न फुकुवा गरी चारकिल्ला र घरबाटो सिफारिस दिएको भन्दै स्थानीयहरुले संघर्ष समिति नै बनाएर आन्दोलन थालेपछि सो विषय बाहिरिएको हो ।
‘पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको कुल १ विघा २ कठ्ठा १७ धुर सार्वजनिक जग्गा हो तर गाउँपालिका अध्यक्ष चौधरीले मोटो रकम लिएर खरिद विक्रीका लागि फुकुवा गरी चारकिल्ला र घरबाटो सिफारिस दिनुभएको छ’ संघर्ष समितिआवद्ध इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलनकुमार चौधरीले भने, ‘जबकी उक्त सिफारिस दिने कार्य वडा कार्यालयको हो तर चलखेलमा परेर त्यो प्रक्रियासम्ममा ध्यान पुर्याउनुभएन ।’
उनका अनुसार उक्त जग्गा दानमा पाएपछि ४ दशकअघि नै सरकारी संरचना समेत निर्माण भएर हालसम्म हाटबजार लाग्दै आएको छ । ‘०७४ सालमा तत्कालीन गाउँपालिका अध्यक्ष परशुराम चौधरी नेतृत्वको कार्यपालिका बैठकले उक्त जग्गा रोक्का राख्ने सर्वसम्मतले निर्णय पनि भएको थियो, सोअनुसार नै वडा कार्यालयले मालपोत रसिद काट्न समेत रोकेको थियो’ उनले भने, ‘तर वर्तमान अध्यक्ष चौधरीले रोक्का फुकुवा गरी ती सिफारिस दिएको र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख केशव झासँग मिलेमतो गरी हाल पुनः उक्त जग्गा खरिद विक्री गर्न खोजेको छ ।’
उक्त जग्गाको सार्वजनिक कायम नगरीसम्म आन्दोलन जारी नै रहने संघर्ष समितिका संयोजक अरुणकुमार चौधरीले भनाई छ । ‘भू–माफियाहरुको सक्रियताले उक्त जग्गा पटक पटक किनबेच भएको देखिन्छ तर उपभोग भने अझैं सार्वजनिक जग्गाकै रुपमा हुँदै आएको छ’ उनले भने, ‘जग्गा सार्वजनिक कायम नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
कर्मचारी र जनप्रतिनिधिसँग ‘सेटिङ’
तत्कालिन प्रशवनी गाविस (हाल अग्निसाइर कृष्णासवरन गाउँपालिका–४) बस्ने स्व.देवेन्द्र प्रसाद सिंहले ०३८ सालमै तत्कालिन सितापुर–७ (क) कित्ता नं.६५ को १ विघा ३ कठ्ठा ६ धुर जग्गा तत्कालिन सगरमाथा एकिकृत ग्रामिण विकास परियोजनाको नाममा दान दिनुभएको थियो । उक्त जग्गा भने देवेन्द्रकी कान्छी छोरी प्रमिलाकुमारीको नाममै थियो ।
बुवाले दान गरेपछि प्रमिलाले ती परियोजनालाई दान गरेको भनि कागज समेत गरिदिएकी थिइन । बुवाले दान गरेको भनि परियोजनाका नाममा प्रमिलाले कागज गरिदिएपनि स्व.देवेन्द्र सिंहका नाती रञ्नेश्वर सिंहले फूपू प्रमिलाको नामबाट आफ्नो उक्त जग्गा सारेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । यद्यपी, उक्त जग्गा तत्कालिन कृषि विकास कार्यालय सप्तरी (हाल कृषि ज्ञान केन्द्र)मा रोक्का थियो ।
पछि परियोजनाको समन्वयकर्ताको कार्यालय लहानले कृषि महाशाखा र पशु विकास तथा पशु स्वास्थ्य महाशाखाको म्याद सकिएर खारेज भएपछि रञ्नेश्वरले कृषि विकास कार्यालय सप्तरीका तत्कालिन निमित्त प्रमुख दिनेशप्रसाद यादव र नायब सुब्बा गुरु पौडेलसँग मिलेमतो गरी उक्त जग्गा फुकुवा गराएका हुन् ।
तर, उक्त जग्गाको पश्चिमतर्फ कृषि सम्पर्क कृषि सेवा केन्द्र सितापुरकका लागि भवन समेत बनाइसकेकाले र.नं.१९७८५ मा कित्ता काँट गरी ०७२ जेठ ३२ गते कित्ता नं.६५४ को ९ धुर जग्गा सो कार्यालयकै नाममा पास गरेको मालपोतको तथ्यांकमा उल्लेख रहेको छ ।
बाँकी रहेको कित्ता नं.६५५ को १ विघा २ कठ्ठा १७ धुर जग्गा रञ्नेश्वरले सोही दिन सरकारी संरचनासहितका जग्गा राजविराज बस्ने राजेश दासलाई विक्री गरेका थिए । राजेशले पनि वर्ष दिन नवित्दै ०७२ चैत्र २९ गते राजविराजकै फूरकान अहमद खाँलाई उक्त जग्गा विक्री गरेका थिए । खाँले पनि डेढ वर्ष नवित्दै ०७४ असार ६ गते धनुषाको फौडेश्वर गाविस–६ हाल सप्तरीको राजविराज नगरपालिका–७ बस्ने शत्रुधनकुमार ठाकुरलाई उक्त जग्गा विक्री गरे । ठाकुरसँग खाँले लिएको ऋण वापत उक्त जग्गा पास गरेको लिखत कागजातमा उल्लेख रहेको छ ।
पछिल्लो पटक गाउँपालिका अध्यक्ष चौधरीले ०८० माघ २८ गते चलानी नं.११८८ र ११८९ उल्लेखित चारकिल्ला र घरबाटो सिफारिसअनुसार ठाकुरले पनि ०८० चैत्र २ गते काठमाडौं बस्ने बालगोपाल कार्कीलाई उक्त जग्गा विक्री गरेको मालपोतको तथ्यांकमा छ । हालसम्म उक्त जग्गा पाँच पटक खरिद विक्री हुँदा पनि ०३८ सालदेखि नै बाँझो पर्ति नै रहेको स्थानीयहरु बताउँछन् ।
खरिद विक्रीबारे मलाई जानकारीसम्म गराएको छैन् : प्रमिला
बुवाले उक्त जग्गा दानमा दिएको भन्दै स्व.देवेन्द्रकी छोरी प्रमिलादेवीले सावर्जनिक जग्गाको संरक्षण गर्न ०७६ साल माघ महिनामै गाउँपालिका कार्यालयमा निवेदन दिएकी थिइन । उक्त जग्गा ०२२ सालमै आफ्नो नाममा आएको र बुवाले मसँग मञ्जुरी लिएरै तत्कालिन प्रसवनी गाउँ पञ्चायतको अनुवाइमा सगरमाथा एकिकृत ग्रामिण विकास परियोजनालाई हाटबजार लगाउने उद्देश्यले दानमा दिएको प्रमिलाले दिएको निवेदनमा उल्लेख रहेको छ ।
‘हाल केही वर्ष यता उक्त जग्गामा केही दुषित भावनाले ग्रसित व्यक्तिहरुले मेरो नामबाट विभिन्न व्यक्तिहरुको नाममा नामसारी गरिएको कुरा थाहा हुन आएको छ । यो नामसारी कसरी हुन गएको हो म स्वयंमलाई थाहा छैन्’ निवेदनमा उल्लेख गरिएको छ, ‘हाल म र मेरो श्रीमान उमेरको अवस्थाले गर्दा हामीहरु हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेकोले जग्गाबारे खोज तलास समेत गर्न नसक्ने अवस्थामा छैन् ।’
उक्त जग्गा हाटबजारको प्रयोजनको लागि दिइएको सार्वजनिक जग्गा रहेकोले संरक्षण–सम्बर्द्धन गरिदिन निवेदनमा आग्रह समेत गरिएको छ ।
स्व.देवेन्द्रका छोरा भगवतीप्रसाद सिंहले पनि हाटबजार लगाउनका लागि बुवाले उक्त जग्गा दानमा दिनुभएको बताउनुभएको छ । ‘गाउँलाई सहरीकरण गर्ने अवधारणासहित सरकारले ०३८–०३९ देखि ०४२–०४३ सम्म पञ्चबर्षे योजना लागू भएको बेला नै बुवाले उक्त जग्गा दान दिनुभएको थियो’ उनले भने, ‘त्यसपछि उक्त जग्गामा तीन थान बजार सेडसहितका सरकारी कार्यालयहरु स्थापना भयो र हाट बजारको पुर्वाधार निर्माण भएपछि तत्कालिन सगरमाथा अञ्चलका अञ्चाधिश सुर्य बहादुर सेन ओलिले ०४४ सालमा बजार उद्घाटन गर्नुभएको थियो ।’ उक्त कसरी किनबेच भइरहेको विषयमा भगवतीले पनि अनभिज्ञता व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष चौधरीले उक्त जग्गा व्यक्तिकै रहेको पाइएपछि आफुले सिफारिस दिएको बताए । ‘लालपूर्जासहित निवेदन आएपछि मैले सिफारिस दिएको हुँ’ सिफारिस दिने काम वडा कार्यालयको होइन र? भन्ने प्रश्नमा उनले भने, ‘मैले कसैसँग लिएको छैन्, लिएको छु भन्ने प्रमाणित गर्नुस्, म भोग्न तयार छु ।’
यता, तत्कालिन कृषि विकास कार्यालयका निमित्त प्रमुख यादवले चलखेलको कुरा नरहेको भन्दै तत्कालिन नायब सुब्बा गुरु पौडेलले तयार पारेर ल्याएको सिफारिसमा हस्ताक्षर गरेको बताए । ‘मलाई खासै जानकारी थिएन तर सुब्बाले नै सबै कागजात हेरी सिफारिस तयार पार्नुभएको थियो र सबै ठिक छ भनि विश्वासमा पार्नुभएको पनि थियो, मिस्टेक भएको हुनसक्छ तर चलखेल भएको छैन् ।’, उनले भने । हाल उनी अवकास पाइसकेका छन् ।
उता, मालपोत कार्यालय राजविराजका झाले गाउँपालिकाबाट आएको सिफारिस र लालपूर्जाको आधारमा पछिल्लो पटक उक्त जग्गा खरिद विक्री भएको बताए ।
हालको जग्गाको श्रेस्ता कायम भएका कार्कीले व्यक्तिकै जग्गा रहेको देखिएपछि उक्त जग्गा खरिद गरेको बताए । ‘संरचनाको विषयभन्दा पनि त्यो जग्गा व्यक्तिको देखियो र खरिद गरे ।’, उनले भने ।