सप्तरी प्रिमियर लिगको दुवै खेल वर्षाले रद्द, तिरहुत टाइगर्स प्ले–अफमा 

राजविराज–सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत सातौँ दिनको दुवै खेल वर्षाका कारण रद्द भएको छ । कन्चनरुप राइनोज र सनराइज एघार तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल रद्द भएको हो ।

कन्चनरुप र तिलाठी कोइलाडी बीचको खेल पहिलोमा टस जितेर ब्याटिंग गरेको कन्चनरुपले ६.३ ओभरमा कन्चनरुप राइनोजले विकेट नगुमाई ११५ रन बनाएको थियो । त्यसपछि भारी वर्षाले खेल पुनः सुचारु हुन सकेन । खराब आउटफिल्डका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो ।

कन्चनरुपको लागि सुभ कंसकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए। आक्रामक ब्याटिंग गरेका सुभले मात्र २१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। राकेशले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाए ।

त्यस्तै, छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल भने टस समेत नभई रद्द भयो । आजको नतिजा पछि लिग चरणको सबै ५ खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स ३ जित र २ नतिजाविहिन खेलपछि ८ अंकसहित शिर्षस्थानमा छ ।

छिन्नमस्ताले पहिलो क्वालीफायरमा समेत स्थान पक्का गरेको छ । त्यस्तै, कन्चनरुप राइनोजले पनि सबै ५ खेल खेल्दा ३ जित १ हार र १ नतिजाविहिन खेलपछि ७ अंक बटुल्दै दोश्रो स्थानमा छ ।  कन्चनरुपले पनि प्लेअफ खेल्ने पक्का भैसकेको छ ।

अंकतालिकामा तेश्रो स्थानमा रहेको तिरहुट टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ जसको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेलपछि ५ अंक छ । ४ खेलमा १ जित, १ हार र दुई नतिजाविहिन खेलको अंकपछि ४ अंक सहित सनराइज एघार तिलाठी कोइलाडी चौंथो स्थानमा छ । एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी एघारको ४ खेलमा १ जित र ३ हार पछि २ अंक छ ।

तिलाठी कोइलाडी र राजबिराज राजदेवीको प्लेअफ सम्भावना कायमै छ । चार वटै खेलमा हार पछि अंकविहिन बलान बिहुलको प्लेअफ सम्भावना समाप्त भैसकेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणको अन्तिम दुई खेल हुनेछन् । विहान ९ बजे तिरहुत टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो साढे १ बजे राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन् ।  राउण्ड रोबिन लिग अन्तर्गत संचालन भइरहेको लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।

जेठ २८ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन् । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस