मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ

राजविराज- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ । सप्तरी क्षेत्र नम्बर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् ।

लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

१४ सदस्यीय मन्त्रिपरिषद् गठन

नवनियुक्त मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिँचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस