गाउँपालिका अध्यक्ष विरुद्धको डाँका मुद्दा : एक वर्षदेखि न्यायको पर्खाईमा पीडित

राजविराज, १२ साउन–सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाको समूहले वडा नम्वर १ बस्ने किरणकुमार जयसवाल (राजु)माथि ०८० असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै चोरी डाँका गरे ।

जयसवालको दिएको जाहेरीअनुसार गाउँपालिका अध्यक्ष ५१ वर्षीय यादव, सोही ठाउँका २७ वर्षीय राम यादव, निवर्तमान वडाध्यक्ष ३५ वर्षीय पिताम्वर यादव र ३२ वर्षीय सरोज यादवले हातपात गर्दै कमिशनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरे ।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटक–पटक गालीगलौच गर्दै ज्यान मार्ने धाम्की दिँदै आएको, ०८० असार २३ गते रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै कमिशनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरेको’ जाहेरीमा उल्लेख रहेको छ ।

घटनापछि उनी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे तर जयसवालको जाहेरी दर्ता भएन । बाध्य भएर उनी ०८० असार २६ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाए । तर पनि प्रहरी पनि जाहेरी भने दर्ता गर्न मानेनन् ।

पटक–पटक प्रहरीमा धाए पनि गाउँपालिका अध्यक्ष विरुद्धको जाहेरी दर्ता भएन । आलटाल गर्दै प्रहरीले महिना दिन विताएपछि उनी न्याय गुहार्दै परमादेशको आदेश माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरे ।

उक्त मुद्दामा गत मंसिर २२ गते अदालतका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भयो । यद्यपी, प्रहरीको अनाकानी थियो नै ।

०८० फागुन १२ गते जिल्लाको कल्याणपुरस्थित एक कार्यक्रममा सहभागी हुन आएका तत्कालिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष मिडियाकर्मीमार्फत उक्त विषय पुगेपछि कानूनअनुसार अघि बढ्न प्रहरीलाई निर्देशन पनि दिए ।

लामो समयको दौडधूप र भनसुन भएपछि ०८० चैत्र २३ गते जाहेरी दर्ता भएको जयसवालले मधेशलाइभलाई बताए । ‘जाहेरी दर्ता भएर पनि अनुसन्धानकै नाममा घटना भएको एक वर्षभन्दा बढी समय वितिसकेको छ तर अझैं न्याय पाएको छैन्’ उनले भने, ‘जहिले अनुसन्धान भइरहेको छ भनि डिएसपी र एसपी सा’बले जवाफ फर्काउनुहुन्छ तर गाउँपालिका अध्यक्षले नै घटना घटाएको स्वीकारोक्तीसहितको भिडिओ शुद्ध प्रहरीमा बुझाइसक्दा पनि अनुसन्धानमै अड्किएको हेर्दा दुःख लागिरहेको छ ।’

गाउँपालिका अध्यक्ष यादवले घटना घटाएको पुष्टि हुने प्रमाण दिँदा पनि न्याय नपाउँदा कानून कार्यान्वयन गराउनेहरुको नियतमै आशंका हुने गरेको जयसवालले बताए । ‘न्याय यतिका झनझटिलो भयो भने सर्वसाधारणले कसरी न्याय पाउँछन्’ उनले भने, ‘दौडधूप गर्दागर्दै एक वर्ष भइसक्यो, अझ कति समय लाग्छ न्याय पाउन टुंगो नै छैन् ।’

उनले न्याय पाउनमा सघाइदिन सबैमा आग्रह समेत गरे ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले उक्त विषय छिट्टै टुंगिने बताए । ‘अनुसन्धानमा अलिक समय लागेको हो तर अब छिट्टै टुंगिन्छ, ढुक्क हुनुस् ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार