जनप्रतिनिधिको लापरवाहीले प्राविधिक धारका विद्यार्थीहरु पढ्नबाट वञ्चित

राजविराज, १२ साउन–जनप्रतिनिधिको लापरवाहीका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा अध्ययरत प्राविधिक धारतर्फका विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका छन् ।

विद्यालयमा गत वर्षदेखि लागु भएको प्राविधिक धारतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४ जना विद्यार्थीहरु भर्ना भएका थिए । एक जना विद्यार्थी भने छात्रवृत्ति पाएर सिरहा जिल्लाबाट अध्ययन गर्न उक्त विद्यालयमा आएका छन् । तर, जनप्रतिनिधिको लापरवाहीका कारण परीक्षा हुन एक महिना मात्रै बाँकी रहदा समेत उनीहरुले दोस्रो सेमेस्टरमा पढ्न पाएको छैन् ।

उक्त विद्यालयमा प्राविधिक धार लागु भएसँगै लेखापालसहित ७ जना शिक्षकलाई भर्ना गरेर पठनपाठन सुचारु भएको थियो । तर शिक्षकहरुले तलब नपाउँदा पठनपाठन प्रभावित भएको प्रधानाध्यापक सत्यनारायण साहले जानकारी दिए ।

‘दुई जना शिक्षकसँग कोर्ष कन्ट्याक्टमा सम्झौता गरेका छौं भने ३ जनासँग करार र बाँकी यही विद्यालयका शिक्षकले प्राविधिक धारतर्फका विद्यार्थीलाई पहिलो सेमेस्टरमा पठनपाठन गराए पनि तर तलब नपाउँदा दोस्रो सेमेस्टरमा पठनपाठन प्रभावित भएको अवस्था छ’ उनले भने, ‘शिक्षकले तलब नपाएको विषयमा मैले पटक–पटक गाउँपालिकामा पत्र नै लेखे, अध्यक्ष जीलाई कति पटक ध्यानाकर्षण पनि गराए तर पनि कसैको ध्यान पुगेन ।’

अझ पनि सोही विषयलाई लिएर गाउँपालिका धाइरहेको प्रधानाध्यापक साहले बताए । ‘छिटै तलब पठाइदिने आश्वासन पाएको छु, तलब खुवाउन सकियो भने पठनपाठन पनि चाँडै सुचारु गर्न मद्दत पुग्थ्यो’ परीक्षा हुन एक महिना मात्र बाँकी रहदा पनि पठनपाठन सुचारु नहुँदा विद्यार्थीको एक वर्ष वर्वाद भयो नि, यसको दोषी को? भन्ने प्रश्नमा उनले भने, ‘पठनपाठन सुचारु गराउन मैले हरेक तबरले प्रयास गरेको छु तर गाउँपालिकातिर गम्भीर भएन ।’

उक्त विद्यालयमा पुनः यस वर्ष पनि साउन १ गतेदेखि विद्यार्थी भर्ना लिइरहेको छ । हालसम्म ८ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ ।

प्रयोगशाला प्रयोगविहीन

प्राविधिक शिक्षा लागु भएसँगै आर्थिक वर्ष ०७८–०७९ मै उक्त विद्यालयका लागि २५ लाख रुपैयाँको प्रयोगशालाका सामग्री खरिद गरिएको थियो । तर, ती सामग्री अझसम्म प्रयोगमा आएको छैन् ।

विद्यालयका निवर्तमान प्रधानाध्यापक कपिलेश्वर अमातले प्रयोगशालाको सामग्रीमाथि कब्जा जमाएर बसेको विद्यार्थीहरु बताउँछन् । ‘उहाँले अहिलेसम्म बरबुझारथ पनि गरेको छैन्, बरबुझारथ नगर्दा प्रयोगशालाका सामग्री मात्रै होइन किताब पनि त्यहीँ कोठामा थन्किएको छ’ एक विद्यार्थीले भने, ‘हामीले अहिलेसम्म ल्याब देखेको पनि छैन्, त्यो कोठाको साँचो पनि उहाँले नै बोक्नुहुन्छ, आफ्नो नीजि स्वार्थमा लागेर हाम्रो भविष्य त अन्धकारमा पार्नु भएन नि ।’

निवर्तमान प्रधानाध्यापक कपिलेश्वर अमातले बरबुझारथ नहुँदा प्रयोगशालाको सामग्री राखिएको कोठाको साँचो राखेको बताए । ‘बरबुझारथ हुन्छ अनि न दिन्छु, अरु कुरा मलाई थाहा छैन्’ उनले भने ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्राविधिक समस्याका कारण शिक्षकहरुलाई तलब खुवाउन नसकिएको बताए । ‘शिक्षकबारे हामीलाई जानकारी नै थिएन तर पनि हिजोका मितिसम्म करिब करिब तलब खुवाइसकेका छौं’ उनले भने, ‘अब पठनपाठन पनि सुरु हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार