कहाँ पुग्यो सिद्धार्थ तातेर विरुद्धको ठगी र आर्थिक अपचलन मुद्दा ?

राजविराज, १६ साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेरको वयान सकिएको छ ।

राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहदा राजविराज नगरपालिका वडा नम्वर ३ का वडा सदस्य समेत रहेका ताडेरसहितका सञ्चालक समितिले ठगी र आर्थिक अपचलन गरेको भन्दै जाहेरी परेपछि उनलाई साउन ३ गते बिहिवार पक्राउ गरिएको थियो ।

बुधवारसम्म वयान सकिएपछि बिहिवारबाट थुनछेक वहस हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

राजविराज नगरपालिका–३ बस्ने राजविराज जेसिजका पूर्व अध्यक्ष समेत रहेका तातेरसहितका सञ्चालक समितिले सहकारीमा बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४६ जना बचतकर्ताहरूले संयुक्त जाहेरी दिएका थिए । जाहेरीअनुसार तातेरसहितका सञ्चालक समितिले बचतकर्ताहरुको ३ करोड २ लाख ९४ हजार ४३६ रुपैयाँ फिर्ता गरेको छैन् ।

‘सहकारीका सञ्चालक समिति अध्यक्ष जिल्लाको विष्णुपुर गाउँपालिका–१ बस्ने बेचन यादव, उपाध्यक्ष रुपनी गाउँपालिका–५ बस्ने रामप्रसाद दास, सचिव तातेर, सदस्य राजविराज नगरपालिका–३ कै सिहेश्वर दास, सदस्य विष्णुपुर गाउँपालिका–१ बस्ने रेणु यादव, संस्थाका व्यवस्थापक सोही ठाउँका दिनेश कुसियत यादव र संस्थाको पत्थरगाढा शाखाका ईन्चार्ज राजविराज नगरपालिका–६ बस्ने श्रवणकुमार रामले सञ्चालन गरेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ मा समेत सञ्चालन गरी हामी बचतकर्ताहरुलाई बचत गर्न लगाई हामीले बचत गरेको ३ करोड २ लाख ९४ हजार ४३६ रुपैयाँ ठगी गरी संस्था बन्द भागी फरार भएको’, जाहेरीमा उल्लेख रहेको छ ।

त्यस्तै, तातेरसहितकाले सहकारी संस्थाको पनि करिब एक करोेड रुपैयाँ अपचलन गरेको प्रहरीले जनाएको छ । दुवै मुद्दामा अनुसन्धान भइरहेको र अन्य फरार आरोपीहरुको खोजी कार्य भइरहेको डिएसपी नेउपानेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस