राजविराज, १६ भदौ–गत बुधवार राति पूर्व डिआईजीसहितका चोरी शिकारी गर्ने गिरोहले मारेको बँदेललाई गाडिएको चार दिनपछि पोस्टमार्टमका लागि खाल्टोबाट निकालिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ योगिनियाँस्थित कोशी पलार क्षेत्रबाट ती बँदेलसहित नेपाल प्रहरीका पूर्व डिआईजी ज्ञानविक्रम शाह, बहालबाला सई सञ्जय न्यौपाने, पूर्व उपसभामुख गंगाप्रसाद यादवको छोरा आकाश यादव लगायतका १० जना पक्राउ परेका थिए ।
घटनापछि प्रहरीले मुचुल्का नै गलत तयार गरेका कारण गत बिहीबार साँझ नै हतार–हतार गरी सव–डिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा बँदेल गाडिएको थियो । तर, प्रहरीले पक्राउ परेकाहरुलाई उन्मुक्ति दिन गरेको चलखेलबारे सञ्चारमाध्यममा समाचार बाहिरिएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा आइतबार बिहान पोस्टमार्टमका लागि बँदेल खाल्टोबाट निकालिएको हो ।
खाल्टोबाट निकालिएको बँदेल पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष पठाइएको छ ।
कोशी पलार क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको प्रहरी टोलीले हतियारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ६१ वर्षीय पूर्व डिआईजी शाह र विराटनगर–३ का सई वर्षीय न्यौपाने, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का पूर्व उपसभामुखको छोरा ३७ वर्षीय यादवसँगै सोही नगरपालिका–२ का ५१ वर्षिय जनार्दन राउत, ५ का २३ वर्षीय ओमशंकर प्रसैला, १ का ५० वर्षीय लक्ष्मण मण्डल र वडा नम्वर ३ पोर्ताहाका ५१ वर्षीय शंकरप्रसाद यादव, तिरहुत गाउँपालिका–२ का २१ वर्षीय लक्ष्मण मण्डल, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३३ वर्षीय प्रदिप लिम्बु पक्राउ परेको थियो ।
प्रहरीले उनीहरूको साथबाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपड एक, फलामको हथौडा एक, खुर्पा एक वटा पनि बरामद गरेको थियो । त्यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्याक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो जिपसमेत नियन्त्रणमा लिएको थियो ।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालको निर्देशनमा शिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सब–डिभिजन वन कार्यालयमा बुझाई पक्राउ गरिएकाहरुलाई गत बिहीबार नै छोडिएको थियो ।