जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि जिम्मेवारी तोकेको हो । जसअनुसार सुदुरपश्चिम प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिबलाल थापा मगरलाई खटाइएको छ ।
त्यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र कोसी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादवलाई तोकिएको छ ।
पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यहरुका साथै प्रदेश समितिहरु सँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको छ । तोकिएका अभियन्ताले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने छ ।
जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सोमबार पाँचथरमा अभियन्ता अभिमुखिकरणको आयोजना गर्न लागिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् । यसअघि जसपा नेपालले काठमाण्डौ, जनकपुर, वीरगञ्ज, बिराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा अभियन्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।