राजविराज–पत्रकारहरुलाई दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले माफी मागेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा अध्यक्ष मण्डलले उक्त कार्यप्रति दुःख प्रकट गर्दै माफी मागेका हुन् ।
गत साउन २२ गतेदेखि समाचार संकलनका लागि गाउँकार्यपालिकाको कार्यालय पुगेका नेपाल पत्रकार महासंघ, सप्तरीका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नविन गुप्ता र सदस्य विद्यानन्द रामलाई अध्यक्ष मण्डलले दुर्व्यवहार गरेका थिए ।
घटनापछि पत्रकारहरु आन्दोलित भएका थिए भने नेतृत्वले पहलकदमी नलिएको भन्दै प्रेस मञ्च नेपाल, सप्तरीले नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
त्यसअघि प्रेस मञ्च नेपाल, सप्तरी र नेपाल पत्रकार महासंघ, सप्तरीबीच तीन बुँदे सहमति भएपछि ताला खोलिएको थियो ।