राजविराज–विगत छ महिनादेखि पारिश्रमिक नपाएको भन्दै उप–प्राध्यापक तथा कर्मचारीहरुले बिहिबार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले क्षतिपूर्तिसहितको पारिश्रमिक पाउनुपर्ने माग राखेर गत माघ २७ गते ज्ञापन–पत्र बुझाएका थिए ।
उक्त ज्ञापन–पत्रमा माघ ३० गतेभित्र माग सम्बोधन हुनुपर्ने समयसिमा तोकिएको थियो । यद्यपी, माग सम्बोधन गर्नेतर्फ पहल नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको उप–प्राध्यापक डा.एकराम मिश्रले जानकारी दिए । ‘हामीले शान्तिपूर्ण रुपमा संघर्ष गर्ने र तीअनुसार नै तालाबन्दी गर्ने विषय ज्ञापन–पत्रमा नै उल्लेख गरिसकेका थियौ तर सुनुवाई भएन’ उनले भने, ‘अनि तालाबन्दी गर्नुपर्यो ।’
उनका अनुसार विश्वविद्यालयका ८ जना उप–प्राध्यापकसहित १९ कर्मचारीहरु पारिश्रमिक पाएको छैन् ।
उप–प्राध्यापक तथा कर्मचारीहरुको संघर्षका कारण विश्वविद्यालयको प्रशासनिक कामकाज, शैक्षिक गतिविधि र अनुसन्धान कार्य ठप्प भएको छ ।
उता, विश्वविद्यालयका उप–कुलपति बैद्यनाथ महतोले समस्या समाधानका लागि पत्राचार गरिसकेको बताएका छन् । ‘हामीले कानूनअनुसार शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेका छौं तर त्यहाँबाट प्रतिक्रिया आएको छैन्’, उनले भने ।