राजविराज, २ फागुन । दुई दलबीचको राजनीतिक द्वन्द्वले मधेश कृषि विश्वविद्यालय अस्तव्यस्त बनेको छ ।
गत वर्ष माघ ८ गते भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बनाउने विषयमा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीच द्वन्द्व भएको थियो ।
सो कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिमा बनाएपछि जनमत पार्टीका नेता–कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए ।
कार्यक्रमस्थलमा विरोध जनाएपछि प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप समेत भएको थियो । झडपमा प्रहरीले लाठीचार्ज गर्दा अहिलेका मुख्यमन्त्री सतिशकुमार सिंह र तत्कालिन विश्वविद्यालयका सहकुलपति रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशकुमार यादव लगायतका नेता–कार्यकर्ता घाइते समेत भएका थिए ।
घटनापछि जनमत पार्टीले मधेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरोजकुमार यादव नेतृत्वको तत्कालीन प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिए । ती घटनाको एक वर्ष वितिसक्दा समेत दुई पार्टीबीचको विवाद अन्त्य हुन सकेको छैन् ।
विवादले मधेश प्रदेशको गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालय अस्तव्यस्त बनेको छ भने पछिल्लो ६ महिनादेखि पारिश्रमिक नपाउँदै विश्वविद्यालयका उपप्राध्यापक र कर्मचारीले तालाबन्दी नै गर्न बाध्य बनेका छन् ।
बिहिवार गरिएको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक कामकाज, शैक्षिक गतिविधि र अनुसन्धान कार्य ठप्प भएको छ ।