- रबिन गौतम
मधेशमा दलित चेलीहरूको हत्या–बलात्कार मौन कानुनको चित्कार: सप्तरीमा पूजा कुमारी रामको रहस्यमय हत्या भएको छ।
सप्तरी, सुरुङ्गा – मधेस प्रदेशमा दलित चेलीहरू माथिको हत्या, बलात्कार तथा हिंसात्मक घटनाहरूको संख्या बढ्दो छ, तर कानुनी निष्क्रियता र राजनीतिक मौनताले पीडित परिवारहरू अझ पीडामा छन्। पछिल्लो उदाहरण सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया पूजा कुमारी रामको हत्या हो, जसले फेरि एकपटक न्याय प्रणालीमाथि प्रश्न उठाएको छ।
नयाँ वर्षको रात, जब अधिकांश मानिसहरू उल्लास मनाइरहेका थिए, सोही रात पूजा कुमारी रामको अपहरणपछि हत्या गरिएको पुष्टि भएको छ। परिवारका अनुसार त्यो रात पूजाकी आमा अष्टजाममा सहभागी हुन बाहिर गएकी थिइन्, र पूजा आफ्नो १२ वर्षीय भाइ विश्वजीत रामसँग घरमै थिइन्। आमाको अनुपस्थितिको फाइदा उठाउँदै पूजा अपहरणमा परेकी थिइन्।
पुजा हराएको भोलिपल्ट बिहान खोज तलास गर्दा पूजाको शव घरदेखि करिब ५०० मिटर दक्षिण, तीगछीया भन्ने स्थानको पोखरीको छेउमा फेला परेको हो। शवको अवस्था हेर्दा जबरजस्ती र हिंसाको आशङ्का गरिएको छ।
सप्तरी प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले घटनाबारे प्रारम्भिक जानकारी दिँदै शवमा हिंसात्मक गतिविधिको आशङ्का गरिएको बताए। “पोष्टमार्टमको रिपोर्ट नआएसम्म ठोस रूपमा केही भन्न सकिँदैन”, उनले भने। शवलाई वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइएको छ।यो घटना कुनै एक्लो उदाहरण होइन। मधेसका विभिन्न भागहरूमा दलित समुदायका महिला र किशोरीहरू नियमित रूपमा हिंसाको शिकार बनिरहेका छन्। तर पीडितका लागि न्याय पाउने प्रक्रिया सुस्त र अन्यायपूर्ण देखिएको छ। परिवारहरू डर, असुरक्षा र राज्यको उपेक्षामा बाँचेका छन्।पूजा कुमारी रामको हत्या मधेस प्रदेशमा दलित चेलीहरूको सुरक्षाको गम्भीर प्रश्न हो। जबसम्म कानुनी संयन्त्र प्रभावकारी रूपमा काम गर्दैन, राजनीतिक नेतृत्वले आवाज उठाउँदैन, र दोषीहरूलाई सजाय हुँदैन—त्यति बेलासम्म पीडितहरूका लागि न्याय केवल सपना नै रहिरहनेछ।
शब्द तथा तस्वीर : फेसबुक वालबाट ।