काठमाडौं, ३२ असार । सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकको विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, केन्द्रीय कार्यकारिणी समितिको निर्देशनअनुसार उक्त निर्णय लिइएको हो। भूमि सम्बन्धी विधेयकमा दलित, सुकुम्बासी, भूमिहीन लगायतका मुद्दा समेटिएको नभएको भन्दै जसपाले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो। अब जसपाको समर्थन नपाएपछि सत्ता गठबन्धनको संख्या सातबाट घटेर ६ मा सीमित भएको छ।
गत वर्ष असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले कांग्रेस, एमालेसहित ७ दलको समर्थनमा १८८ सांसदको बहुमत पाएका थिए। त्यसबेलादेखि आफू दुई तिहाइ समर्थनको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका ओलीको दाबीमा अब चीरफार हुने देखिएको छ।
राष्ट्रिय सभामा त सत्तारुढ दलहरू पहिले नै अल्पमतमा थिए। जसपाको तीन सिट गुमेसँगै सत्ता पक्षको संख्या ५९ सदस्यीय राष्ट्रिय सभामा २८ मा झरेको छ – कांग्रेस (१६), एमाले (११), लोसपा (१)। विपक्षमा भने माओवादी (१७), एकीकृत समाजवादी (८), जसपा (३), राष्ट्रिय जनमोर्चा (१) र राष्ट्रपतिबाट मनोनित वामदेव गौतमको समर्थन समेत जोडिँदा स्पष्ट बहुमत पुगेको छ।
जसपाको समर्थन फिर्ताले संघीय राजनीति फेरि अस्थिरतातर्फ उन्मुख भएको संकेत देखिएको छ।