राजविराज, १६ साउन । सप्तरीको राजविराज नगरपालिका–११ झल्हीमा १५ वर्षिया दलित बालिकामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
चार जनाको समूहले घर अगाडि उभिरहेकी बालिकालाई उठाएर लगेका थिए । गोप्य स्थानमा लगेर बलात्कार गरेको पीडित परिवारले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । विहीबार विहान आरोपीमध्येका १९ वर्षीय राजु यादवलाई देख्नासाथ समातेर हातपात गरेपछि बालिकामाथि भएको बलात्कार भएको विषय सार्वजनिक भएको छ । बालिकालाई लुकाएर राखिएको घरबाट बिहान उद्धार गरिएको छ ।
घटनाका आरोपी राजुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको छ । राजु र १८ वर्षीय विवेक यादवले बहिनीलाई सामूहिक बलात्कार गरेको पीडित बालिकाका दाजुले बताए ।
बिहिबारैदेखि पीडक पक्षबाट घटनालाई बाहिर नल्याई मिल्नका लागि दवाब दिइरहेको जनाइएको छ । उनका अनुसार वडाध्यक्ष उतिदनारायण यादव समेतका उपस्थितिमा स्वास्थ्य चौकीमा पञ्चायती बसाएर मिल्नका लागि दबाब दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बालिकाको परिवारले गराएको जानकारीअनुसार एक जना युवकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । यद्यपी आधिकारिक रुपमा जाहेरी नआएको उनको भनाइ छ ।