राजविराज, ३१ साउन । हिन्दू धर्मावलम्वीहरुले कृष्ण जन्माष्टमी पर्वको अवसरमा शनिवार भगवान श्रीकृष्णको पूजाआजा गरी मनाइदैछ ।
कृष्ण जन्माष्टमीका अवसरमा गाउँगाउँमा विभिन्न देवीदेवताका साथै राधा कृष्णको पूजाआजा गरिँदैछ । कृष्णलाई विष्णुको आठौं अवतार मानिन्छ । उनको जीवन तथा उपदेशहरू महाभारत, भागवत पुराण र गीतामा विस्तृत वर्णन गरिएको छ ।
भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा प्रत्येक वर्ष कृष्णाष्टमी मनाइन्छ । पौराणिक कथाअनुसार, मथुराका राजा कंस अत्याचारी थिए । उनको बहिनी देवकीको आठौं सन्तानले मारिदिने भविष्यवाणी भएको थियो ।
कंशले देवकी र उनका पति वासुदेवलाई जेलमा राखी सन्तानहरूलाई मारिदिन्थे । यद्यपी आठौं सन्तान (श्रीकृष्ण) जन्मिएपछि वासुदेवले उनलाई गोपग्राम गोकुलमा यशोदा–नन्दको घरमा पु¥याएको धार्मिक गन्थमा उल्लेख छ । कृष्णले कंशको वध गरी न्याय र धर्मको स्थापना गरेका थिए ।
जन्माष्टमीको अवसरमा कृष्णलीला र झाँकी इत्यादि प्रदर्शन गर्ने गरिन्छ । विशेषगरी भारत र मधेशका केही जिल्लाहरुमा कृष्णको बाललीला सम्झाउनका लागि मानव पिरामिड बनाएर दही, माखन वा मिठाई राखिएको मट्को फुटाउने गरिन्छ । युवाहरुले विभिन्न स्थानहरुमा मटका फोड्ने अर्थात मट्काफोड कार्यक्रम आयोजना गर्ने गरिन्छ ।