काठमाण्डाै, ७ भदौ । सरकारले अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकलाई जनविरोधी र भू–माफियामुखी भन्दै देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
उक्त प्रदर्शन भाद्र ९ गतेदेखि १५ गतेसम्म विरोध प्रदर्शनको घोषणा गरिएको हो । पार्टीको केन्द्रीय सचिवालय बैठकले संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते अघि बढाइएको विधेयकलाई राष्ट्रिय हित विपरीत रहेको निष्कर्ष निकालेको छ। जसपाले सो विधेयक कार्यान्वयन भए वनजंगल विनाश हुने, तराई–मधेश मरुभूमिकरणको खतरामा पर्ने र जग्गा दलाल तथा माफियाको मात्र हित हुने आरोप लगाएको छ।
जसपाले “भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔं” भन्ने अभियानसहित आन्दोलन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत देशका विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन तथा जनजागरण कार्यक्रम गरिने पार्टीले जनाएको छ।
पार्टीका महासचिव लालबाबू राजतद्वारा हस्ताक्षरित सर्कुलर अनुसार सबै प्रदेश, जिल्ला, पालिका, वडा र सम्बन्धित संगठनलाई आन्दोलनमा सक्रिय सहभागी भई भूमिको अतिक्रमण रोक्ने, जैविक विविधता तथा वातावरणको संरक्षण गर्ने र जनताको हकहितमा एकजुट हुने आह्वान गरिएको छ।
