जनकपुरधाम सहित सहरहरुमा जसपा) नेपालकाे विशाल प्रदर्शन

राजविराज, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका झुटा आरोप तथा भूमि विधेयक विरुद्ध जनकपुरधाम सहित देशका विभिन्न जिल्लाहरुमा विशाल प्रदर्शन गरिएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा नाराबाजी सहित वृहत प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले भूमि विधेयक फिर्ता लेउ, झुटा मुद्दा खारेज गर, “मधेशमाथि षड्यन्त्र बन्द गर जस्ता नाराबाजी गर्दै जनकचोकबाट सुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमै कोणसभामा परिणत भएको थियो।

विरोधसभाका वक्ताहरुले मधेशमाथि भइरहेको षड्यन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् । भूमि विधेयकमार्फत मधेशलाई उपनिवेश बनाउने र मरुभूमीकरणतर्फ धकेल्ने प्रयास भइरहेको उनले आरोप लगाएका छन् । १८ वर्ष अघिको मुद्दामा जसपा अध्यक्षलाई फसाउन राज्य संयन्त्र सक्रिय रहेको भन्दै मधेशवासीलाई कडा संघर्षका लागि तयारी रहन अपील गरे ।

यसैगरी रौतहटको गौरमा समेत जसपा नेपाल जिल्ला समितिद्वारा वृहत विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरु नाराबाजी गर्दै गौरको विभिन्न भाग परिक्रमा गरेका छन् । विरोधसभामा बोल्दै वक्ताहरुले भूमि विधेयकमा असहयोग गरेको प्रतिशोधस्वरूप अध्यक्ष यादवलाई गौर घटनामा फसाउने षड्यन्त्र भइरहेको भन्दै यस्ता हर्कत नसुधारिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् । गौर घटनाको मुख्य दोषी प्रभु साह रहेकोले अविलम्ब पक्राउ गरी कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।

मधेश सहित देशका विभिन्न जिल्लाहरुमा समेत प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस