असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यस्तो छ शुल्क सूची

 

राजविराज, ९ असोज । व्यापक आलोचनाका बीच सरकारले सवारीसाधनमा आगामी असोज १ गतेदेखि  इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निकाय यातायात व्यवस्था विभागले सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गरेको हो । विभागले विभागीय मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णय अनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट गर्न सूचना जारी गरेको छ । उक्त सूचना अनुसार सवारीधनीहरुलाई यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरुमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न जानकारी गराइएको छ ।

विभागले गत भदौ ३ गते सूचना जारी गरी मोटरसाइकलमा इम्बोस्ड नम्बर कार्यान्वयन सम्बन्धी सूचना जारी गरेको हो । मोटरसाइकलमा साधारण नम्बरप्लेट लेखाउँदा बढीमा पाँच सय लाग्ने लाग्ने गरेकोमा अब इम्बोस्ड नम्बरका लागि पाँच गुणा बढी शुल्क तिर्नुपर्ने हुन्छ । अन्य ठूला सवारीका लागि पनि साधारण प्लेटमा लाग्ने खर्चको तुलनामा कैयौं गुणा बढी हुन जान्छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्देशिकाअनुसार दुईपाङ्ग्रे सवारीका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनपांग्रेका लागि २ हजार ९ सय रुपैयाँ, चारपांग्रेका लागि ३ हजार २ सय रुपैयाँ र ठुला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

मधेश प्रदेशमा अन्तर्गत यातायात व्यवस्था कार्यालय लाहान, यातायात व्यवस्था कार्यालय जनकपुर, यातायात व्यवस्था कार्यालय वीरगञ्ज र यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट इम्बोस्ड नम्बर जडान गर्न सकिने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस