काठमाडौँ, ९ भदौ । वीरगञ्ज महानगरपालिकामा ७१ जनामा हैजा पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण देखिएका बिरामीको नमुना परीक्षण गर्दा ७१ जनामा हैजा पुष्टि भएको हो। भदौ ७ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा न. ३, ११, १२, १३ र १६ बाट झाडापखालाका लक्षण लिएर १९४ जना बिरामी अस्पतालमा आएका थिए। हाल विभिन्न स्वास्थ्य संस्थामा ९५ जना बिरामी उपचाररत छन्। उपचाररतमध्ये २२ जनालाई आईसियुमा र ६७ जनालाई एचडीसियुमा राखेर उपचार भइरहेको छ।
डा. बुढाथोकीले हैजाका प्रमुख लक्षणमा बारम्बार पानीजस्तो पातलो दिसा, बान्ता, अत्यधिक तिर्खा, मुख सुक्ने, छाला चाउरिनु, शरीरमा पानी र नुनको कमी (डिहाइड्रेसन), कमजोरी, थकाइ, पिसाब कम हुनु, रक्तचाप घट्नु, मुटुको धड्कन तेज हुनु र बेहोस हुनु पर्ने बताए। हैजा शरीरमा छिटो पानी र इलेक्ट्रोलाइटको कमी ल्याउँछ, जसले रोगीको अवस्था गम्भीर बनाउन सक्छ।
मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा र अन्य पानीजन्य रोग फैलिन सक्ने भएकाले सबै सरोकारवालालाई सजग र सतर्क रहन आग्रह गरेको छ। पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र सेवन गर्ने, व्यक्तिगत र खानेकुराको सरसफाइमा ध्यान दिने, खुला स्थानमा दिसा नगर्ने, चर्पीको प्रयोग अनिवार्य गर्ने र दिसापिसाब पछि साबुन पानीले हात धुनेजस्ता उपाय अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
