मोरङ्ग कारागारमा लगातार मृत्यु, इन्सेकसहितको टोलीद्वारा अनुगमन

बिराटनगर, १५ भदौ । इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, माइती नेपाललगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले जिल्ला कारागारको अनुगमन गरेका हुन् । कारागारमा एकपछि अर्को गर्दै कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने क्रम बढेपछि कारागारको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार कारागार प्रशासक गौरव ढुङ्गेलसँग कारागारमा नियमितजस्तो कैदीबन्दी वा थुनुवा मृत्यु हुनुको कारणसहित कारागारको भौतिक अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश राजधानी र बढी क्षमताको भवन बनेपछि अन्य जिल्लाबाट स्थान्तरण हुने, थप उपचारका लागि प्रदेशका अन्य जिल्लाबाट विराटनगर ल्याइने गर्दा भार थपिदो रहेको जानकारी दिइएको छ । इन्सेकको अभिलेखका आधारमा ०८२ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको अवधिमा मोरङमा राज्यको नियन्त्रणमा रहेका एक महिला र सात जना पुरुष गरी आठ जनाको मृत्यु भएको पाइएको छ । सबैभन्दा पछिल्लो मृत्यु मोरङ कारागारको महिला सुधारगृहमा भएको छ ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखेरलको नेतृत्वमा बाल अधिकारकर्मी वासु अधिकारी, महिला अधिकारकर्मी शोभा बजगाई, गैसस महासंघकी अध्यक्ष विष्णु शर्मा, मनोविमर्शकर्ता गीताञ्जली शर्मासहितको टोलीले जिल्ला कारागारको अनुगमनका साथै कारागार प्रशासकसँग कारागारको अवस्थाका बारेमा जानकारी लिएको छ ।

ढुंगेलमा अनुसार “लहरै बनेको शौचालयको माथिल्लो भाग खुला छ, त्यहीबाट अन्य महिलाले उनलाई झुण्डिएको देखे र निकाले ।” कारागार अनुगमन क्रममा महिला कैदीबन्दीले झुण्डिएको अवस्थामा राधिका मृत फेला परे पछि अन्य महिला कैदीबन्दी तथा थुनामा रहेकाहरुमा त्रास फैलिएको इन्सेक संयोजक पोखरेलले बताए ।

अनुगमन टोलीले घटनास्थल हेर्न खोज्दा उनले निश्चित सरकारी निकायबाहेक अन्यलाई भित्र प्रवेश गर्न नमिल्ने जवाफ दिए । कारागारका कैदीबन्दीहरूले नै पासो खोलेका कारण प्रहरीले उनीहरूलाई घटनाबारे सोधपुछ गरिरहेकोले उनीहरू डराएको अवस्था भएकाले पनि भित्र जान उपयुक्त अवस्था नभएको भनेपछि कारागारको सुरक्षाककर्मी बस्ने बुर्जाबाट अनुगमन टोलीले कारागारको अवलोकन गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस