काठमाडौं, १६ भदाै । नेपाल शिक्षक महासंघले जनता समाजवादी पार्टी (जसपा) नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा आज धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलन अन्तर्गत बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महासंघका प्रतिनिधिहरूले पार्टी कार्यालयमा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाएका थिए।
महासंघका अनुसार, विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानमा संशोधनको माग राख्दै उनीहरूले देशभरका दलका पार्टी कार्यालयहरूमा धर्ना दिँदै ध्यानाकर्षण गराउँदै आएका छन्। यसअघि उनीहरूले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि धर्ना दिएका थिए।
महासंघले दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकहरूलाई स्थायी बनाउन आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति, योगदानमा आधारित सामाजिक सुरक्षा, प्रारम्भिक बाल शिक्षामा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी तथा उचित पारिश्रमिकको व्यवस्था गर्न माग राखेको छ।