नवनियुक्त तीन मन्त्रीले गरे शपथ ग्रहण, मन्त्रालयको जिम्मेवारी बाँडफाँट

काठमाडौं, भदौ ३० । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा तीन नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई पदभार ग्रहण गराएका हुन्।

पूर्वअर्थसचिव रहिसकेका खनालले अर्थ मन्त्रालयको नेतृत्व पाएका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। त्यस्तै अधिवक्ता तथा ‘जेन–जी आन्दोलन’का सहजकर्ता रहेका अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस