एक शिक्षकमा ९ सय विद्यार्थी !

राजविराज । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले त्रिभुवन विश्वविद्यालयलाई नयाँ महाजनको संज्ञा दिँदै पढाउने शिक्षक नै व्यवस्था नगरी भर्ना लिनु गलत भएको बताएका छन् ।

इन्टेलेक्चुअल फाउण्डेशन नेपालले मङ्गलबार महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजमा आयोजना गरिएको पूर्व विद्यार्थी मिलन समारोह एवम् शुभकामना आदान–प्रदान तथा शैक्षिक सुधार विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त विचार व्यक्त गरेका हुन् । मबिब क्याम्पस एक जना शिक्षकमा ९ सय विद्यार्थीले कस्तो खालको शिक्षा आर्जन गरिरहेको प्रति आश्चर्य व्यक्त गर्दै डा. यादवले भने ‘ त्रिभुवन विश्वविद्यालय नयाँ महाजन जस्तै हो, कि त टिचर दिनुपर्याे, नभए भर्ना बन्द गर्नुपर्यो ।’

शिक्षा, स्वास्थ्य र कानून क्षेत्र पनि व्यापारिकरण भएको आरोप लगाउँदै सुधार आवश्यक रहेको उनले बताए । ‘करिब ६० लाख रुपैयाँ खर्च गरेर एमबीबीएस पढेका चिकित्सकले सरकारी अस्पतालबाट ४०–४५ हजार पाउने हो, निजीमा त झन ३०–३५ हजार पारिश्रमिक पाउने हो’ उनले थपे ‘सरकारी अस्पताल जनताले गुणस्तरीय सेवा पाउँदैन, सरकार र निजी अस्पतालको मिलोमतो हुन्छ ।’

न्यायालय समेत स्वतन्त्र नभई परतन्त्र अवस्थामा रहेको चर्चा गर्दै अदालतमा समेत सेमी प्राइभेटाइजेसन भएको डा. यादवले टिप्पणी गरे । सरकारको ठूलो लगानी न्यायिक क्षेत्रमा रहेको अवस्थामा न्यायालयलाई पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने तथा वकिलहरुलाई समेत वर्गिकरण गरेर सुविधा दिनुपर्नेमा उनले जोड दिए ।

महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका प्रमुख प्रा.डा. सुशीलचन्द्र कर्णले क्याम्पस  समस्याग्रस्त अवस्थामा रहेकोले सुधारका लागि आफु प्रयासरत रहेको बताए । वर्षौंदेखिको समस्यालाई समाधान गर्न केही समय लाग्ने बताउँदै उनले भने ‘नियमित कक्षा सञ्चालन तथा परीक्षामा सुधारका लागि कदम अगाडि बढाएका छौं, श्रोतसाधन अभावका बीच पनि यसैवर्षदेखि बीआइटीको पठन–पाठन शुरु गर्न लागेका छौं, सबैपक्षको सकारात्मक सहयोग आवश्यक छ ।’

लुम्बिनी बौद्ध विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. पिताम्बरलाल यादवले देशमै अग्रणी मबिब क्याम्पसको गुणस्तर पछिल्लो समय खस्किदै गएकोमा चिन्ता व्यक्त गरे । सिरहा क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. रामखेलावन यादव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादव, जिल्ला अदालत सप्तरी बार इकाईका पूर्व अध्यक्ष अधिवक्ता डोमन साह, अधिवक्ता ध्रुव कुमार मण्डल, शिक्षक लक्ष्मण मेहता, शिक्षा अभियानी घुरन यादव पूर्व विद्यार्थी नेता स्ववियुका पूर्व सह–सचिव ममता चौधरी, सदस्य पार्थो सरकार, नागरिक समाजकी पिंकी कुमारी झा लगायतले शिक्षाको गुणस्तर सुधारकालागि सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिए ।

फाउण्डेशनका अध्यक्ष डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजिकरण प्रमोद यादवले गरे ।
हेर्नुहोस् भिडियोः

Author:



क्याटोगरी छान्‍नुहोस