जेनजी आन्दोलनका माग सम्बोधनका लागि संसद पुनर्स्थापना : डा. सिके राउत

राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू सम्बोधन गर्न संसद पुनर्स्थापना अपरिहार्य भएको बताएका छन् ।

जनमत पत्रकार संघद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनलाई देशको ठूलो राजनीतिक भूल भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सुशासन र नीतिगत सुधारका एजेन्डा कार्यान्वयन गर्न संसदको विकल्प नभएको बताए ।

डा. राउतका अनुसार संसद नहुँदा जेनजी आन्दोलनका मुद्दा संस्थागत गर्न कठिनाइ भएको छ । उनले भने, “जेनजी पुस्ताले उठाएको माग जनमत पार्टीकै एजेन्डा हो । संविधान संशोधन गरेर मात्र ती मागहरू सम्बोधन गर्न सकिन्छ, संविधान खारेज गर्ने कुरा प्रतिगामी सोच हो।”

उनले आफू र आफ्ना पार्टीका सांसदले जनताको आन्दोलनप्रति सम्मानजनक व्यवहार गर्दै तत्कालै प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको स्मरण गराए । “संविधान कुनै हालतमा खारेज हुन सक्दैन, संसद पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्छ,” उनले जोड दिए ।

डा. राउतले जनमत पार्टी मध्यमार्गी सिद्धान्तमा आधारित रहेको स्पष्ट पार्दै समाजवाद र निजी क्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने बताए । तोकिएकै समयमा चुनाव हुनुपर्नेमा पार्टीको अडान रहेको उल्लेख गर्दै उनले जनमत पार्टी चुनावबाट कहिल्यै नडराउने दाबी गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, मधेश प्रदेश संसदीय दलका नेता महेश यादव, जिल्ला इन्चार्ज रामगमन साह लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस